• १६ भदौ २०८२, सोमबार

जापानिज इन्सेफ्लाइटिसबाट तीन जनाको मृत्यु, डेंगुको जोखिम पनि बढ्दै

blog

स्वास्थ्य कार्यालय पश्चिम नवलपरासी ।

पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, भदौ १६ गते ।
नवलपरासी जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिस (जेई) रोगको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख भेषराज शर्माले दिएको जानकारीअनुसार विगत डेढ महिनाको अवधिमा उनीहरूको निधन भएको हो ।

मृत्यु हुनेमा बर्दघाट नगरपालिका, सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाका एक/एक जना पुरुष छन् । उनीहरू क्रमशः ७४, ६२ र ५० वर्षका थिए । उपचारका क्रममा उनीहरूको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार जेईविरुद्धको खोप नलगाएकाहरूमा यो सङ्क्रमण देखिएको हो ।

लामखुट्टेको टोकाइबाट सर्ने यी दुई रोगको जोखिम जिल्लामा बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका वरिष्ठ मलेरिया निरीक्षक देवीलाल पौडेलका अनुसार, जापानिज इन्सेफ्लाइटिस र डेंगुको जोखिमलाई ध्यानमा राख्दै समुदायस्तरमा लामखुट्टे नियन्त्रण र जनचेतना अभियान सञ्चालन गरिएको छ ।

यसैबीच, पश्चिम नवलपरासीमा डेंगु सङ्क्रमणले पनि चुनौती थपेको छ । सन् २०२५ को हालसम्म जिल्लामा नौ जनामा डेंगु पोजेटिभ देखिएको छ । वैशाखयता मात्रै सात जनामा डेंगु पुष्टि भएको छ । चिकित्सकका अनुसार मौसममा पानी जम्ने स्थल र सरसफाइमा कमीका कारण यी रोगहरू तीव्र गतिमा फैलिरहेका छन् ।

चिकित्सकहरूका अनुसार, जापानिज इन्सेफलाइटिस क्यूलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक गम्भीर रोग हो । यो रोग लागेमा मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने र कोमामा जाने सम्भावना हुन्छ ।

त्यसैगरी, एडिस एजिप्टी प्रजातिको लामखुट्टेमार्फत सर्ने डेंगीका सामान्य लक्षणहरूमा उच्च ज्वरो, टाउको दुख्ने, आँखाको पछाडि दुख्ने र मांसपेशी दुख्ने जस्ता समस्या देखिन्छन् । गम्भीर अवस्थामा शरीरमा रक्तस्राव हुने र प्लेटलेट घट्ने समस्या हुन सक्छ ।

दुवै रोगबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु नै सबैभन्दा महत्त्वपूर्ण उपाय हो । घर वरपर पानी जम्न नदिने, झुल लगाएर सुत्ने,  पूरा बाहुला भएको लुगा लगाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।