प्रेमराज सिम्खडा
कालीकोट, भदौ १६ गते । कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको गगनेखोलामा अस्तीराति अर्थात् शनिबार रातिबाट पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन । कालीकोटको गगनेखोलामा ठुलो ढुङ्गासहितको पहिरो आएपछि सडक अवरुद्ध भएको हो ।
उक्त ढुङ्गा फुटाउन नसकेका कारणले आजसम्म सडक खुल्न नसकेको हो । उक्त ढुङ्गा फुटाउन ब्रेकरको प्रयोग भरहेपनि फुटाउन सकिएको छैन । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरिक्षक बिरबहादुर सुनारले ढुङ्गा फुटाउनका लागि नेपाली सेनासँग समन्वय भइरहेको बताउनुभयो । सम्भवत आजै खुलाउने प्रयास होला सुचना अधिकारी सुनारले जानकारी दिनुभयो ।
वर्षा निरन्तर भइरहेकाले काम गर्न समेत समस्या छ । पानी नरोकिएकाले थप पहिरो पनि बगिरहेकाले त्यहाँ ब्रेकर लगाउने बिस्फोटका लागि ठाउँ बनाउन सकिन्छ सकिँदैन त्यसैमा भर पर्ने प्रहरीको भनाइ छ । लामो समयको सडक अवरुद्धले यात्रु निकै समस्यामा परेका छन । सुर्खेतबाट कालीकोटको रास्कोट जादै गरेका यात्रु हंशराज सज्यालले आफु एक दिन भरी हिडेर जितेबजार हुँदै अर्को गाडी मार्फत घर पुगेको बताउनुभयो ।
बाटोमा निकै समस्या छ । खाना खानका लागि होटल खासै छैनन । पहिरो कतिबेला झर्ने र पुर्ने चिन्ता गरेर बस्नु भन्दा आफु लगाएत केही यात्रु पैदल हिडेर अर्को गाडी मार्फत आएको सुनाउनुभयो । कालीकोट खण्डमा दिनहु भइरहने अवरोधले यात्रुले निकै सास्ती पाईरहेका छन । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीले कालीकोट खण्डका लागि दुई वटा स्र्काभेर परिचालन गरिएको भए पनि समयमा सडक खुलाउन नसक्दा आफुलाई पनि नराम्रो अनुभूति भइरहेको बताउनुभयो ।
भदौ १३ गते सुर्खेत–जुम्ला सडक अन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–२, कालेखोला, एसमोड, गगने खोलामा भत्किएको सडक मर्मत गरी सुचारु भइसकेको भए पनि गगनेखोलामा ठुलो ढुङ्गा सहितको पहिरोले सडक पुरै पुरेका कारणले खुलाउन समय लागेको चौधरीले बताउनुभयो ।
गगने खोलामा ठुला ढुङ्गाहरू खसेर सडकमा झरेको हुनाले फुटाउने कार्य जारी छ । आज बिस्फाेट गराउन नेपाली सेना र प्रहरी त्यहाँ छ । तर पानी परेकाले काम गर्न सकिरहेको छैन कार्यालय प्रमुख चौधरीले जानकारी दिनुभयो ।
अविरल वर्षाको कारण डिभिजनको कार्यक्षेत्र कालीकोटको गगनेखोलामा पहिराले सडक अवरुद्ध हुदा यात्रुलाई गन्तव्य पुग्न मुस्किल भइरहेको छ । यही समयमा यातायात समितिले पनि चर्को भाडा असुल गरेर थप यात्रुलाई मर्कामा पार्ने गर्दछन् । कार्यालयले वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रिको समयमा यात्रा नगर्न सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी पनि दिएको छ । अति आवशयक काम बाहेक सामान्य काममा अर्थात् पछि गरेपनि हुने काममा यात्रा नगर्न सुरक्षा निकायदेखि सडक डिभिजन कार्याले पनि सुझाव दिने गरेको छ ।