ज्योति पन्थी
बबई (बर्दिया) भदौ १६ गते । बर्दिया र कैलालीको सीमा भएर बग्ने कर्णाली नदीले गेरुवा गाउँपालिका-२ बनघुस्रास्थित तटबन्ध कटान गर्न थालेपछि गेरुवा गाउँपालिकाका आधा दर्जन भन्दा बढी गाउँ उच्च जोखिमा परेका छन् । कर्णाली नदीको कटानले करिब ३ सय मिटर तटबन्ध बगाएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, राजापुरले जनाएको छ ।
तत्कालीन कर्णाली नदी व्यवस्थापन आयोजनाले करिब ५ वर्षअघि झन्डै ३ करोडको लागतमा निर्माण भएको तटबन्ध र स्पर बगाएको हो । कर्णाली नदी कटान गर्दा करिब ३ सय मिटर तटबन्ध कटान गरेको छ ।
सिँचाइ तथा जलस्रोत आयोजनाका आयोजना प्रमुख सुदिन मुक्तानले नदीले अहिले पनि कटान गरिरहेको र नियन्त्रण गर्न समस्या भएको बताउनुभयो । तटबन्धको सडक ५ मिटरमध्ये अब २ मिटर कटान हुनासाथ कर्णाली बस्तीमा पस्ने जोखिम बढेको छ ।
"कटान रोकिएको छैन्," मुक्त्तानले भन्नुभयो, "आपत्कालीन तटबन्धका लागि वर्षातमा बोल्डर (ठुला ढुङ्गा) पाइँदैनन् ।" गेरुवा गाउँपालिका–२ बनघुस्राका स्थानीय तटबन्ध बगाएपछि नदीको बाढी गाउँ पस्ने भन्दै त्रसित बनेका छन् ।
सोमबारदेखि लगातार पानी परिरहेकोले कर्णालीमा जल स्तर बढ्दै गएको छ । बिहान ७ दशमलव ८ मिटर पानीको बहाव छ । कर्णालीमा १० मिटर पुग्नासाथ बाढी आउने गर्छ । गेरुवा गाउँपालिकाका-२ का वडाध्यक्ष कृष्ण थारुले नदी कटान तीव्र भएकाले आधा दर्जनभन्दा बढी गाउँ जोखिममा परेको बताउनुभयो ।
नदीले अत्यधिक कटान गर्न थालेपछि स्थानीय बासिन्दा, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना र सुरक्षा निकायका सुरक्षा निकायका सुरक्षाकर्मीहरू कटान नियन्त्रणका लागी लागेको भए पनि अहिले सम्म नियन्त्रणमा आउन सकेको छैन । गेरुवा गाउँपालिका २ स्थित बनघुस्राबाट कर्णाली नदी गाउँ पसेमा बनघुस्रासहित भैरमपुर, टिकलीगढ, खुटेना लोहारपुर,सनकट्टी र बनकट्टी गाउँ जोखिममा पर्ने देखिएको छ ।