• १६ भदौ २०८२, सोमबार

खोटाङमा व्यावसायिक राँगापालन

blog

सामूहिक पालिएको राँगा र भैँसी जङ्गल चरनमा । तस्बिरः राजकुमार भट्टराई

राजकुमार भट्टराई

खोटाङ, भदौ १६ गते । बिहान जङ्गलमा लगेर राँगा छाड्ने र बेलुका गोठमा ल्याएर बाँध्ने, खोटाङ खाल्लेका कृषकहरुको अहिलेको दैनिकी बनेकोे छ । सामूहिकरुपमा व्यावसायिक राँगापालन सुरु गरेका खाल्लेका चारसले दाप्सा कृषक समूहसँग अहिले राँगा र पाडी गरेर २४ वटा छन् । 

दिनभरी जङ्गलमा चरेर राँगाभैँसी अघाउँछन् । कृषकहरु भने हिउँदको लागि घाँस जोहो गरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा कृषकहरुले व्यावसायिकरुपमा राँगापालन सुरु गरेका हुन् । किसानलाई स्वरोजगार बनाउँदै राँगाको मासुमा आत्मनिर्भर बन्ने नगरपालिकाको नीतिअनुसार कृषकहरुले व्यावसायिकरुपमा राँगा पाल्न थालेका हुन् । 

दुधको लागि भैँसी पाल्दै आए पनि मासुका लागि व्यावसायिक रुपमा खोटाङमा हालसम्म राँगा पालिएको थिएन । यतिबेला भने कृषकहरुले केही ठाउँमा सामूहिक र केही ठाउँमा व्यक्तिगत राँगापालन सुरु गरेका हुन् । 

अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा करिब ६२ लाख बराबरको चारसय राँगा खरिद गरेर नगरपालिकाले कृषकलाई वितरण गरेको थियो । नगरपालिकाले प्रदान गरेको उक्त राँगा खाल्लेको चारसले दाप्सा कृषक समूहले सामूहिकरुपमा राँगापालन गरिरहेका छन् । तराईबाट ल्याएका केही राँगा मरेपछि अहिले स्थानीय गाउँघरबाट खरिद गरेर २४ वटा बनाइएको समूहका अध्यक्ष रामकुमार राईको भनाइ छ । 

खाल्लेसँगै लफ्याङ, विजयखर्क लगायतका केही ठाउँमा नगरपालिकाले वितरण गरेको राँगा सामूहिकरुपमा कृषकहरुले पालिरहेका छन् । धेरै ठाउँमा भने व्यक्तिगत तर व्यावसायिकरुपमै कृषकहरुले राँगा पालिरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राईले बताउनुभयो । 

“हाम्रो नगरपालिका क्षेत्रमा अत्यधिक जङ्गल छ, जहाँ घाँस यतिकै खेर गइरहेको छ । तसर्थ नगरपालिकाले पशु प्रवर्धन कार्यक्रम सञ्चालन गरिरहेको छ” उपमेयर राईले भन्नुभयो, “अघिल्लो वर्ष चारसय राँगा वितरण गरेका छौँ । अहिले किसानले पालिरहनुभएको छ । ३० हजारको राँगा ६० हजारसम्मको बनाइसक्नुभएको छ । पशु प्रवर्धन कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लानेछौँ ।”

अघिल्लो आर्थिक वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई  ६२ लाख बराबरको उन्नत जातका राँगा वितरण गरेको थियो । नगरपालिकाको पशुपालन प्रवर्धन घोषित कार्यक्रमअन्तर्गत तराईका फार्मबाट खरिद गरेर ल्याइएका उन्नत जातका राँगा कृषक समूहमार्फत किसानलाई वितरण गरिएको थियो । 

तराईबाट ल्याइएका केही राँगा मरेपछि चारसले दाप्सा कृषक समूहका कृषकहरु चिन्तित भएका थिए । तर पुनः गाउँघरबाटै खरिद गरेर राँगाभैँसी पालनलाई निरन्तरता दिएको समूहका अध्यक्ष रामकुमारको भनाइ छ । तीन महिना अघिमात्र ३० हजारमा खरिद गरेका राँगाहरु अहिले ४५ हजारसम्मको भइसकेको उहाँले बताउनुभयो ।

राँगाभैँसी बर्खाको समयमा जङ्गलमा चरेर अघाउने प्रशस्त घाँस भएको चरन क्षेत्र छ । हिउँदको समयमा भने सुख्खा हुने भएकाले घाँसको समस्या हुने रामकुमारले बताउनुभयो । हिउँदका लागि अहिले खर घाँसकाे जोहो गर्न थालिएको उहाँको भनाइ छ । आगामी दिनमा अन्य जङ्गल छेउमा पनि गोठहरु निर्माण गरेर राँगाभैँसीहरु थप्ने योजना रहेको उहाँले सुनाउनुभयो ।