ललितपुर, भदौ १६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एआई प्रयोग गर्न फाइभजी नेटवर्क कार्यान्व्यन हुन अनिवार्य भएकाले नेपाल टेलिकमलाई फाइभजी नेटवर्क सुचारु गर्न निर्देशन दिनुभएको छ ।
ललितपुरमा आज नेपाल टेलिकम (एनटिसी) ले आयोजना गरेको आर्थिक वर्ष २०८२-८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा निर्देशनात्मक सम्बोधन गर्दै मन्त्री गुरुङले जनताको घरदैलोमा फोरजी नेटर्वक व्यापक बनाउन पनि आग्रह गर्नुभएको छ ।
उहाँका अनुसार सरकारको डिजीटल फ्रेमवर्क (डिएनएफ) को उद्देश्य पूरा गर्न, डिजीटल सुशासन विस्तार गर्न, जनताको सेवालाई छिटो र छरितो बनाउन, सुशासन कायम गर्न एनटिसीको नेवटर्क विस्तारले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
मन्त्री गुरुङले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीबिच यसै वर्ष फाइभजी नेटवर्क सुरु गर्ने वचन दिएको बताउँदै त्यसको तयारीमा लाग्न नेपाल टेलिकमलाई ध्यानाकर्षण गराउनुभयो । “साउथ एसियामै फाइभजी नेटवर्क प्रयोग भइसकेको छ, हामी निकैपछि परेका छौँ” उहाँले भन्नुभयो, “प्रधानमन्त्री र मबिच फाइभजी नेटवर्क कार्यान्वयन गर्ने विषयमा सम्झौता भइसकेको छ ।”
उहाँले काठमाडौँ र पोखराबाट फाइभजीको विस्तार गर्ने पनि बताउनुभयो । त्यसैगरी, नेपाल टेलिकम जनताको अति आवश्यक र महत्त्वपूर्ण सेवाप्रदायी संस्था भएकाले कार्य सम्पादनमा संवेदनशीलता अपनाउनु पर्ने सुझाव दिनुभयो । साथै, आर्थिक वर्षको कार्ययोजनाको लक्ष्य प्राप्तिका लागि सबैले इमानदारपूर्वक जिम्मेवारी बहन गर्न पनि मन्त्री गुरुङले आग्रह गर्नुभयो ।
कार्यक्रममा सञ्चार सचिव राधिका अर्यालले नेपाल टेलिकमले भावी लक्ष्य सतप्रतिशत पूरा गर्नेगरी काम गर्न सुझाव दिनुभयो भने सह–सचिव कोशहरि निरौलाले कार्य सम्पादनमा उब्जिएका समस्यामा अल्झी समाधान निकालेर कार्ययोजनाहरू सम्पन्न गर्न आग्रह गर्नुभयो । कार्यक्रममा एनटिसीका सातवटै प्रदेशका निर्देशकहरूले आ–आफ्ना भावी कार्ययोजनाको लक्ष्य पूरा गर्ने प्रतिबद्धता दिनु भएको थियो ।