• १७ भदौ २०८२, मङ्गलबार

‘छिमेकी राष्ट्रसँग नेपालले प्रष्टसँग अडान राख्नुपर्छ’

blog

प्रधानमन्त्रीको चीन भ्रमणका बारेमा परराष्ट्रविद्हरूसँग साक्षात्कार कार्यक्रम ।

काठमाडौँ, भदौ १६ गते । नेपालले छिमेकी राष्ट्रसँग आफ्नो अडान प्रष्टसँग राख्नुपर्नेमा परराष्ट्र विज्ञहरुले सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको प्रधानमन्त्रीको चीन भ्रमणका बारेमा परराष्ट्रविद्हरूसँग साक्षात्कार कार्यक्रममा उहाँहरूले सो विषयमा सुझाव दिनुभएको हो । 

नेपाल–भारत सीमा अध्ययन समितिका संयोजक डा. विष्णु उप्रेतीले छिमेकी राष्ट्रसँग सीमाको सवाल प्रष्टसँग उठाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई के लाग्छ भने अहिले प्रधानमन्त्रीले जे गर्नुभएको छ, एकदम ठीक गर्नुभएको छ । यही तरिकाले सशक्तरूपमा इपिजीको रिपोर्ट बुझेर जे जे गर्न सकिन्छ, गर्दै जाने हो भने समाधान हुँदै जान्थे । कन्टेन्ट के हो भन्ने कुरा औपचारिक रूपमा थाहा छ । इपिजीको रिपोर्ट पनि प्रधानमन्त्रीले उठाउनुपर्छ भन्ने लाग्छ । सीमाको सवाल पनि उठाउनुपर्छ । छिमकीसँग प्रष्ट अडानका साथ छर्लङ्ग कुरा नराखेसम्म गाह्रो हुन्छ नि त ।”

उहाँले ठुला देशहरूले आफ्ना रणनीतिक स्वार्थमा प्रभाव जमाउन खोजेको देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुइटै ठुला देशहरूले आफ्ना रणनीतिक स्वार्थमा अलि बढी प्रभाव जमाउने र बेवास्ता गर्ने गरेको देखिन्छ । हाम्रो प्रधानमन्त्रीले पनि बारम्बार भन्नुहुन्छ आकारमा, जनसङ्ख्यामा, सम्पत्तिमा ठुला–साना हुन सक्ला । सार्वभौममा ठुलो–सानो हुँदैन नि । युएनको चार्टर अनुसार त हामी सबै एकै हौं ।”

भारत र चीनले आफूलाई सम्पन्न देशका रूपमा अन्तर्राष्ट्रिय स्तरमा उभ्याउन चाहने हो भने छिमेकी तथा साना देशहरूको सवाललाई सम्बोधन गर्न सक्नुपर्ने उहाँको भनाइ छ । 

परराष्ट्रविद् डा. राजन भट्टराईले पछिल्लो समय भारत र चीनबिचमा सहमति भएका विषयमा नेपालको वक्तव्यका सन्दर्भमा भारत झनै कडारूपमा प्रस्तुत भएको बताउनुभयो । डा. भट्टराईले भन्नुभयो, “अहिले जे भारतले व्यवहार गरिरहेको छ, त्यो हिसाबले तत्काल समाधान भइहाल्ने ठाउँमा हामी नहुन सक्छौं । तत्काल अस्ति जुन वक्तव्य दिएको छ, त्यसमा सहमति जाहेर गरेर परराष्ट्र मन्त्रालयले वक्तव्य दिने बित्तिकै उसले त्यसको जवाफमा जुन जाहेर गरेको छ, भारतीय विदेश मन्त्रालयले त्यो अझ कडा छ । यो हाम्रो भू–भागमा तिमीहरूले कुरै गर्नुहुँदैन भन्ने कोणबाट देखिन्छ । योभन्दा अगाडि त्यस्तो भाषा प्रयोग गरेको पाएको थिइनँ ।”

सीमाविद् डा. बुद्धिनारायण श्रेष्ठले सीमा विवाद दुई देशबिचको मात्र समस्या नभई यो विषय राष्ट्रिय अस्तित्वसँग जोडिएको बताउनुभयो । यस विषयमा सरकारले स्पष्ट र दृढ अडान राख्न सक्नुपर्ने उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय सिद्धान्तअनुरूप चीन र भारतसँग संवाद तथा समझदारी हुन सक्नुपर्ने धारणा राख्नुभयो । उच्चस्तरीय समितिमार्फत सीमा विवादको समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ छ । 

कार्यक्रम प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा भएको हो । कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गणेश बस्नेतको समेत सहभागिता थियो । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।