• ६ चैत २०८२, शुक्रबार

नयाँसँग आशावादी हुनुपर्छ : राजनीतिक विश्लेषक

blog

काठमाडौँ, चैत ६ गते ।  प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतपरिणामको सन्दर्भमा विभिन्न टिका टिप्पणी भइरहेको र पुराना राजनीतिक दल तथा नेताप्रति वितृष्णा बढेको बेला नयाँ अनुहारप्रतिको आशाका कारण निर्वाचनमा फरक किसिमको परिणाम आएको राजनीतिक विश्लेषकको धारणा छ । 

राजनीतिशास्त्री प्रा.डा. लोकराज बरालले अस्वभाविक  र अनपेक्षित चुनावी परिणाम आएको बताउनुभयो । उहाँले भन्नुभयो, “४६ सालपछि बेला–बेलामा भएको जस्तो यो चुनाव भएन । हार हुँदा पनि दुई, चार हजार, पाँच–पाँच सय मतान्तरले हुन्थ्यो । अहिले ४०, ५० हजारको मार्जिनले जीत-हार भएको छ । त्यसकारण, यसपालीको चुनाव एबनर्मल भन्छु । अस्वभाविक र अनपेक्षित, एक्सपेक्ट नै नगरेको । हामीले आशा नै नगरेको खालको परिणाम आएको छ ।”

अर्का राजनीतिक विश्लेषक झलक सुवेदी विगत सरकारमा गएका पार्टीहरुले जनतासँग वाचा पुरा नगरेका कारण यस किसिमको परिणाम आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अब ४८ साल यताका सरकारमा गएका पार्टीहरुले जनतासँग वाचा पुरा नगरेका कारण रिसाए र अन्त भोट दिए । त्यसो भएर उनीहरु हारे ।”

डा. बरालले पुराना दलप्रति वितृष्णा भएका कारण जनताले नयाँ अनुहारलाई निर्वाचित गराएको बताउनुभयो । “बहुदलीय व्यवस्थामा यस्तो हुँदै नहुने भन्ने त होइन, भारतमा पनि त्यो भएको छ । कहिलेकाहीँ ठुलो सुनामीजस्तो ठुलो हुरी, बबण्डर आएर बढारेर लगेजस्तो हुँदो रहेछ । सधैंजसो चुनावको प्रणालीभन्दा यस पटकको एबनर्मल, अस्वभाविक हो । यसमा विभिन्न कारणहरु छन्, त्यो थाहा भएकै कुरा हो”, उहाँले भन्नुभयो, “विशेषगरी पुराना दलको पाँच, सात वर्षदेखि जुन खेल भइरहेको थियो राजनीतिप्रति मान्छेमा वितृष्णा, वाक्क, दिक्क भइरहेको थियो । नयाँ चाहियो भन्ने खालको एउटा सोच भयो ।”

नागरिकमा निराशा र आक्रोश बढेका कारण यस किसिमको परिणाम आएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “निराशा बढिरहेको बेलामा, आक्रोश बढेको बेलामा यस्तो खालको भयो । संयोगले विभिन्न कारणले गर्दा जेनजी मुभमेन्ट पनि भयो । नेताहरुले गरेको कामको पृष्ठभूमि पनि एक कारण भयो । बालेन साहको इन्ट्री पनि भयो । विभिन्न कारणले यो चुनाव भयो र परिणाम यस किसिमको भयो ।”

नयाँ दल र नेताबाट सुशासनको अपेक्षा कति गर्न सकिन्छ भन्ने जिज्ञासामा उहाँले जनताले ठुलो म्याण्डेट दिएका कारण आशावादी हुनुपर्ने प्रतिक्रिया दिनुभयो । डा. बरालले भन्नुभयो, “उहाँहरुले त्यत्रो म्याण्डेट पाउनुभएको छ, चुनाव जित्नुभएको छ । अहिले नै केही गर्दैनन् भनेर डिसमिस गर्न सकिँदैन । तर, जुन पार्टीको सङ्गठन छैन,  टाउकोमाथि टपक्क आएर बस्नुभएको छ । सबै नयाँ मान्छेहरु छन् शासण प्रणालीमा । कुनै पृष्ठभूमि छैन ।”

झण्डै आधा जति मतदाताले नयाँ दललाई विश्वास गरेका कारण अहिले उहाँहरुबाट अपेक्षा गर्न सकिने भनाइ सुवेदीले राख्नुभयो ।

उहाँले भन्नुभयो, “यसअघिका सरकारहरुले जनताका आशा, अपेक्षा र विश्वासलाई पूरा गर्न सकेका थिएनन् । अहिले नै गर्न सक्दैन भन्ने कुरा भएन अपेक्षा गर्नुपर्छ । ६ महिना, एक वर्षको काम नहेरीकन केही भन्न सक्ने कुरा भएन । आशा गर्ने बेला हो । जुन गतिका साथ उहाँहरु शक्तिमा आउनुभयो, जनताको अपेक्षा र राज्य सञ्चालन गर्ने कुरामा धेरै चुनौती छन् तर अहिले आशा त गर्नुपर्छ ।”

पुराना दलको हार

यसअघि २०७९ को निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली साढे २८ हजारभन्दा बढी मतान्तरले विजयी हुनुभएको थियो । यस पटकको निर्वाचन २०८२ मा ४९ हजारभन्दा बढी मतान्तरले पराजित हुनुभयो ।

२०७९ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौँ क्षेत्र नं. ४ मा सात हजारभन्दा बढी मतान्तरले विजयी हुनुभएको थियो । निर्वाचन क्षेत्र बदलेर यस पटक सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवार रहनुभएका थापा १२ हजारभन्दा बढी मतान्तरले पराजित हुनुभयो । 

तत्कालीन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल यसअघि निर्वाचन २०७९ मा ६ हजारभन्दा बढी मतान्तरले विजयी हुनुभएको थियो । यसपटकको निर्वाचन २०८२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार रहनुभएका नेपाल चौथो स्थानमा खुम्चन पर्‍यो । यसैगरी, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचन २०८२ मा १७ हजार मतान्तरले पराजित बन्नुभयो ।  

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।