काठमाडौँ, चैत २५ गते । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनामा प्रकाशन गर्ने तयारी गरेको छ । गएको वर्षमा तीन महिनामा एसईई नतिजा प्रकाशन हुँदैआएको थियो ।
शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइरालाले एसईई नतिजा एक महिनामै प्रकाशन हुने विषयलाई समयको माग अनुसार सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो । डा. कोइरालाले भन्नुभयो, “मैले पढ्दाखेरी माघमा जाँच हुन्थ्यो । असार, साउनमा रिजल्ट भनेपछि ६ महिना कुनुपर्थ्याे । पछि तीन महिनामा रिजल्टभयो । अब विस्तारै केटाकेटीहरूले एकै महिनामा रिजल्ट पाउनेमा गए त्यो भनेको समयको माग अनुसार गर्नुपर्ने काम हो ।”
छिटो नतिजा प्रकाशनले कस्तो बेथिति रोक्न मद्दत पुर्याउला भन्ने जिज्ञासामा उहाँले यस किसिमको प्रणालीबाट सकारात्मक कुराको आशा गर्न सकिने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “कुन ठाउँको कापी कहाँ गयो, कसलाई गयो या मेरो, उसको निम्ति भनेर बदमासी गरेका उदाहरण पनि छन् । अब तिनमा सत्यता छ भने त्यो रोक्नलाई यसले काम गर्छ । किन काम गर्छ भने कापी जाँच्ने त्यही, सिसी क्यामरा, केन्द्राध्यक्ष र विषय विज्ञ पनि त्यहाँ नभएदेखि अन्त जिल्लाबाट खोजेर भए पनि ल्याउने भन्ने किसिमको व्यवस्था भएको हुनाले मलाई लाग्छ त्यसले नकरात्मक कुराहरूभन्दा सकारात्मक कुरा नै देला भन्ने मेरो आशा हो ।”

उहाँले विद्यार्थीको परीक्षाको नतिजा मूल्याङ्कनका लागि एउटा मानक बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्णायकहरूले साँच्चै सोच्ने हो भनेदेखि एउटा मानक बनाइदिऊँ । त्यो मानकअनुसार विद्यार्थीले आफ्नो क्षमता आफैँ पनि हेरोस् । उनको अभिभावकले पनि मेरो केटाकेटीमा यति क्षमता भएछ है, यति पुगेन छ है भनेर भन्ने उसले थाहा पाओस् र नपुगेको कुरा म आफैँ पढेर पनि पुरा गर्छु भन्ने किसिमको कुरो होस् । अथवा, उसलाई यो वेबसाइट पढ भन्ने किसिमको गरिदिएर केटाकेटीलाई यो दस कक्षाको हाउगुजीबाट मुक्त हुने ढङ्गको गरिदिने हो भने यो साह्रै राम्रो हुने थियो ।”
हाम्रो चिन्तन के रहेछ भने कापी लगेर एक ठाउँमा थुपार्नुपर्छ त्यसपछि बल्ल बाँड्नुपर्छ, कसैलाई थाहा हुनुहुँदैन भन्ने किसिमको चिन्तन रहेछ । त्यो चिन्तनको कारणले हामी यो सोचिरहेका छौं । जसले पढाउँछ, उसले जाँच्छ भन्ने अहिलेको अन्तर्राष्ट्रिय अभ्यास हो” उहाँले भन्नुभयो, “यहाँ के भयो भने पढाउनेले जाँच्ने कुरा पनि आएन । पढाउनेले जाँच्छ भन्ने जरुरी भएन किनभने एउटा सेन्टरको अर्को सेन्टरमा जाँच्छ । त्यसपछि एकाइमा जान सक्ने सम्भावना पनि हुन्छ । त्यसो हुँदा यसलाई बेठीक भन्न हुँदैन ।”
सरकारले यस पटक ब्रिज कोर्स बन्द गर्ने निर्णय गरेको छ । यस सन्दर्भमा कोइराला भन्नुहुन्छ, “एक महिनाको समय पनि केटाकेटी के गरी बिताउँछन् ? त्यो सोच्नुपर्ने अवस्था भयो । ट्युसन सेन्टरमा जान्थे, ब्रिज कोर्स गर्थे । हामीले त्यो पनि बन्द भनेर भनिदियौं । अब नेतृत्वले त्यो बारेमा सोच नै पुर्याएन, बुद्धि नै पुर्याएन अथवा कसैले भन्यो भने पनि सुन्दा पनि सुनेन ।”
उहाँले अचेलका विद्यार्थी मोबाइल र प्रविधि प्रयोगमा अभ्यस्त भएकोले त्यहीबाट गरिखाने सिप सिकाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “केटाकेटी मोबाइलमा झुण्डिन जानेकै छन् । मोबाइलबाटै उनीहरूलाई गरिखाने सिप सिकाउने एक तरिका हुन सक्छ । दोस्रो के हुन सक्छ भने मोबाइलबाटै ब्रिज कोर्स लिन सक्छौं है भन्ने कुराकानी भयो । ब्रिज मात्रै होइन, थप जान्नका लागि पनि यो सामग्री छ है भनेरर तीन वटा काम गरिदिने हो भने केटाकेटीलाई खाली पनि हुँदैन थियो । एउटा निश्चित गन्तव्यमा पनि जान्थ्यो र हामी पनि एक महिनामा रिजल्ट गरेर कस्तो आउला भन्ने पीरबाट पनि मुक्त हुन्थ्यौं ।”

उहाँले विद्यार्थीको रेटिङ गर्ने हाम्रो परम्परा रहेको भन्नुहुँदै उनीहरूलाई अप्ठ्यारो नपर्ने गरी अवसरको वातावरण निर्माण गर्न सक्नुपर्ने भनाइ राख्नुभयो ।
उहाँले भन्नुभयो, “रेटिङ गर्ने हाम्रो बानी हो । रेटिङ गरेर ल तँ त यति खत्तम भइस् भनेर भन्ने यो रेटिङ हो । तर, मुल्याङ्कनको अर्थ त के हुन्छ भने ऊँ कहाँ छ ? के मा पुर्याउने ? अब कसरी लाने भन्ने हो । त्यो बाटोमा जानका निम्ति यसले अवसर दिन्छ । अब, नेतृत्व त्यो अवसरलाई कसरी बुझ्छ, कसरी लागु गर्छ त्यो चाहिँ नि विचार गर्ने विषयवस्तु हो ।” उहाँले विद्यार्थीलाई मूल्याङ्कनसँगै अवसरको वातावरण सिर्जना गर्न सक्नुपर्ने बताउनुभयो ।
“उदाहरणको लागि हेरौं न, म आफैँ एमफिल प्रोग्राम चलाउने मान्छे । मेरो विद्यार्थीको कापी हामी आफैँ जाँच्थ्यौं । आज जाँच लियौं भरे बेलुका कापी जाँच्यो एक, दुई दिन । पाँच सात दिन जति लाग्ला । त्यो रिजल्ट गर्दै गयो ताकी, विद्यार्थीलाई अप्ठ्यारो नपरोस्”, उहाँले भन्नुभयो, “उसलाई ए नानी बाबु हो ! तपाइको अहिले यसो कापी हेर्दाखेरी तपाईं सी ग्रेडभन्दा माथि जानुहोला जस्तो छैन ।
अब तपाईंहरुलाई फस्ट वा ‘ए’ नै चाहिन्छ वा ‘बी’ नै चाहिन्छ भने तपाईंले यो–यो काम गर्नुपर्छ है भनिदिन्छौं हामी । त्यसो भएपछि के हुन्थ्यो भने चाँडै रिजल्ट पनि भयो । ‘ए’ ल्याउनुपर्यो वा ‘ए प्लस’ ल्याउनुपर्यो भने त्यसको निम्ति अवसर पनि भयो । थप यति गरेपछि मैले राम्रो गर्दोरहेछु भन्ने पनि भयो । विद्यार्थीलाई मुल्याङ्कन भनेकै त्यही हो ।”