काठमाडौँ, चैत १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री नियुक्त हुनुभएको छ । उहाँले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो ।
उहाँको जन्म काठमाडौँमा भएको हो । उहाँले काठमाडौँ विश्वविद्यालयबाट कानुन (एलएलबी) र व्यवस्थापन (बिबिएम) अध्ययन गर्नुभएको छ । उहाँ हाल त्रिभुवन विश्वविद्यालयमा नीति, सुशासन तथा भ्रष्टाचार निवारण विषयमा स्नात्तकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ ।
उहाँ विगत एक दशकदेखि वैकल्पिक राजनीतिमा सक्रिय रही सार्वजनिक नीति र प्रणाली सुधारका क्षेत्रमा कार्य गर्दै आउनुभएको छ ।
काठमाडौँ महानगरपालिकामा सहरी योजना आयोगमा सहायक विज्ञ तथा शिक्षा क्षेत्रमा सुधारका लागि नीति निर्माण, सामुदायिक विद्यालयको पूर्वाधार सुधार र प्रविधिमैत्री शिक्षा तथा बजेट व्यवस्थापन एवम् कार्यक्रम कार्यान्वयनमा भूमिका निर्वाह गर्नुभएको अनुभव उहाँसँग छ ।
फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नंं ५ बाट निर्वाचित हुनुभएको हो ।