• २८ फागुन २०८२, बिहिबार

समाज रुपान्तरणमा भूमिगत महिलाको योगदान अतुलनीय छ – पूर्व राष्ट्रपति भण्डारी

blog

मोतिदेवी स्मृति केन्द्रद्वारा आयोजित कार्यक्रममा सहभागी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा (एमाले) अष्टलक्ष्मी शाक्य, नेपाली कम्युनिस्ट पार्टीका नेतृ पम्फा भुषाल, शशी श्रेष्ठ लगायत ।

काठमाडौँ, फागुन २८ गते ।  पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली समाजको अग्रगति एवम् प्रगतिशील रुपान्तरणमा भूमिगत राजनीतिमा होमिएका महिलाको योगदान अतुलनीय रहेको बताउनुभएको छ । 

एक सय १६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा मोतिदेवी स्मृति केन्द्रले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘विविध क्षेत्रका प्रेरणादायी महिलाको सम्मान तथा वृत्तचित्र सार्वजनिक तथा भूमिगत महिला पुस्तक लोकार्पण’ कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।

उहाँले भूमिगत राजनीतिमार्फत योगदान पुर्‍याएका महिलाको जीवनी र यसको प्रकाशनले नयाँ पुस्तमा न्याय, समानता र स्वतन्त्रताको पक्षमा निरन्तर सक्रिय रहन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “भूमिगत राजनीतिमा सङ्लग्न अग्रज महिलाहरुको साहस र समर्पणबाट नयाँ पुस्तालाई समेत न्याय, समानता, र स्वतन्त्रताको मार्गमा अगाडि बढाउन प्रेरित गर्नुपर्छ भन्ने मलाई लाग्दछ । यहाँहरु जस्ता साहसी र हिम्मतिलो महिलाले नेपाली समाजको अग्रगति र प्रगतिशील रुपान्तरणका लागि भूमिगत राजनीतिमार्फत पुर्‍याउनुभएको अतुलनीय योगदानको सम्मान, अभिलेखन तथा प्रकाशनमार्फत न्याय, समानताको पक्षमा निरन्तर सक्रिय रहन नया पुस्तालाई प्रेरणा मिलेको छ भन्ने मैले अपेक्षा गरेको छु ।”

नेपालको लोकतान्त्रिक आन्दोलनमा महिलाको योगदान अतुलनीय रहेको भन्नुहुँदै  उहाँले यसको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको बताउनुभयो । 

उहाँले महिला अधिकार र लैङ्गिक समानताको क्षेत्रमा संवैधानिक एवम् कानुनी दृष्टिबाट उल्लेखनीय उपलब्धि भएपनि कानुनले मात्र परिवर्तन भने नहुने भनाइ राख्नुभयो ।

उहाँले भन्नुभयो, “घरेलु हिंसा, एसिड आक्रमण, दुव्र्यवहार, बलात्कार तथा हत्या जस्ता जघन्य हिंसाबाट नेपाली महिला पीडित बन्नु परेको छ । यस प्रकारको हिंसाको निरन्तरताले महिलाको सुरक्षित र सम्मानजनक रुपमा बाँँच्न पाउने आधारभूत मानव अधिकार समेत खोसिएको छ । यसरी समाजमा गहिरोसँग जरा गाडिएको प्रथा, परम्परा, मूल्य, मान्यता, केबल कानुनले मात्र परिवर्तन हुँदैनन् । यसका लागि परिवार, समुदाय, शैक्षिक संस्था र सञ्चार माध्यममार्फत निरन्तर सचेतना अभियान आवश्यक छ ।”

मोतिदेवी स्मृति केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले विभिन्न राजनीतिक दलमा रहेका महिलाबिच एकता हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

उहाँले भर्खरै सम्पन्न निर्वाचनबाट परिणाम समेत सार्वजनिक भइसकेको भन्नहुँदै यसले एक किसिमको अन्यौलता हटेपनि स्थीरताको प्रश्न भने कायम रहेको बताउनुभयो ।  

 शाक्यले भन्नुभयो, “महिला पार्टीमा विभाजित हुने होइन । एकता अहिलेको आवश्यकता हो । एकले–अर्काेलाई प्रेरित गरेर देश निर्माणमा अगाडि बढ्नुपर्छ ।”

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले समग्र आन्दोलनको एक हिस्सा महिला आन्दोलन भएको भन्नुहुँदै राजनीतिक आन्दोलनको नयाँ धार एवम् नयाँ शक्ति निर्माण गर्नुपर्ने विचार राख्नुभयो । 

उहाँले भन्नुभयो, “एकचोटी समग्र आन्दोलननाई एउटा धारमा ल्याउने कुरा र अहिले पछिल्लो परिणामले अब पनि फेरि वामपन्थी कम्युनिस्ट छुट्टा–छुट्टै बस्छौं भन्ने कुरा हामी कोही पनि नरहने स्थिति हो । हामी महिलाले पुरुष प्रथम नेता छन्, के गर्छन् भनेर होइन की, अब नेपालको आवश्यकता वामपन्थीहरुको बिचमा एकता, देशभक्त लोकतन्त्रवादीहरुका बिचमा संयुक्त मोर्चा गरेर गयौं भने मात्र हाम्रा त्याग, तपस्या र बलिदान, जीवन बलिदान गर्नुभएका सहीदहरुको समेत पनि कदर गर्ने एउटा ऐतिहासिक मोडमा आएका छौं ।”

कार्यक्रममा वर्गीय मुक्ति, लैङ्गिक समानता र सामाजिक न्यायका योद्धा भूमिगत महिला पुस्तक लोकार्पण भएको छ । सो पुस्तकका संयोजक डा. बिन्दा पाण्डेले भूमिगत महिलाको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । 

समाजमा महिला नेतृत्व प्रतिस्पर्धी नभइ अनुयायी हुन् भन्ने सोच अझै रहेको उहाँको भनाइ छ । 

कार्यक्रममा भूमिगत राजनीतिमार्फत समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका महिला नेतृ, उद्यमी तथा युवा सम्मानित हुनुभएको छ । 

नेतृ शान्ता मानवी, गौरा प्रसाई, गोमा देवकोटा, सुशीला श्रेष्ठ, मीरा थामी, लोचना अधिकारी, टुका हमाल, राधा तिमल्सिना, विजयी घिमिरे, नन्दकली चापागाईं, देवकला राई, विष्णु कुमारी लिम्बु, सीता पौडेल, मीना राई, सुलोचना श्रेष्ठ, देवी आचार्य, छिरिङ याङ्छी शेर्पा, गुकुली कुमारी रेग्मी, वदना थपलिया सम्मानित हुनुभयो । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।