• १६ वैशाख २०८३, बुधबार

दाउन्ने सडक ढलानको काम अन्तिम चरणमा

blog

नवलपरासी समाचारदाता

कावासोती, वैशाख १६ गते । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी नवलपरासीको पूर्वी खण्डको दाउन्ने सडक एकतर्फी ढलानको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार पूर्वी खण्डमा अब दुई सय मिटर लम्बाइमा मात्र सडक ढलानको काम गर्न बाँकी रहेको छ । ढलान सकिएपछि एकातर्फी ढलानले सडक जोडिने छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा दाउन्नेको लम्बाइ ३.९ किलोमिटर पर्दछ । जसमध्ये अब दुई सय मिटर सडक ढलानको काम सकिँदा एकातर्फी ढलानको काम सकिने छ । एकातर्फी ढलानको काम सकिएपछि यात्रा गर्न सहज हुने सूचना अधिकारी खनालको भनाइ छ ।

दाउन्नेको पूर्वी खण्डमा ३३ मिटर लम्बाइको ढलानयुक्त बाटोबाट सवारी सञ्चालनमा रहेका छन् भने करिब चार सय मिटरको ढलान सकिएको क्षेत्रमा अहिले सवारी सञ्चालन गरिएको छैन । बर्खाअघि नै दाउन्नेको पूर्व खण्डमा ढलानयुक्त सडकले जोडेर यात्रा सहज बनाउने गरी काम भइरहेको खनालले दाबी गर्नुभयो । खनालका अनुसार ६५ किलोमिटर पूर्वी खण्डको सडकमध्ये हाल करिब सात मिटरमा मात्र कच्ची सडकको यात्रा गर्नुपर्ने अवस्था रहेको छ ।