• १६ वैशाख २०८३, बुधबार

बाँकेमा एकै दिन २२ फरार प्रतिवादी पक्राउ

blog

फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान सञ्चालन गर्दै जिल्ला प्रहरी कार्यालय बाँके । तस्बिरः सिराज खान

सिराज खान
नेपालगन्ज, वैशाख १६ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेले फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियान सञ्चालन गरेको छ । सोही अभियानअन्तर्गत हालसम्म फरार रहेका प्रतिवादीहरूलाई खोजी गर्दै प्रहरीले धमाधम पक्राउ गर्दै आएको छ ।

फरार प्रतिवादी पक्राउ विशेष अभियानअन्तर्गत बाँकेमा एकै दिन २२ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा फरार प्रतिवादी पक्राउ गर्न सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत एकै दिन २२ जनालाई नियन्त्रणमा लिन सफल भएको हो ।

प्रहरी प्रमुख जिसीका अनुसार जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय नेपालगन्ज तथा फैसला कार्यान्वयन टोलीको संयुक्त सक्रियतामा विभिन्न मुद्दाका २२ फरार प्रतिवादी पक्राउ परेका हुन् ।

अदालतबाट फैसला भइसकेपछि लामो समयदेखि फरार रहेका ती प्रतिवादीहरू जिल्लाका विभिन्न स्थानमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राउ परेका सबै २२ जनालाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले बताउनुभयो ।

उहाँका अनुसार प्रहरी उपरीक्षक जिसीको नेतृत्वमा सञ्चालन गरिएको विशेष अभियानबाट उक्त सफलता प्राप्त भएको हो । फरार अपराधी नियन्त्रणका लागि यस्ता अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने सूचना अधिकारी विष्टले बताउनुभयो ।