• १६ वैशाख २०८३, बुधबार

इन्धनको मूल्यवृद्धिले विकास योजना प्रभावित

blog

वासुलिङ समाचारदाता

वासुलिङ (बैतडी), वैशाख १६ गते । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण बैतडीसहित सुदूरपश्चिम प्रदेशका विकास निर्माणका काममा असर पर्न थालेको छ ।  इन्धनको अभाव र बढ्दो लागतका कारण निर्माण व्यवसायीले काम सञ्चालन गर्न कठिनाइ भोग्नु परेको बताएका छन् ।

मौज्दात इन्धनको प्रयोग गरेर काम अगाडि बढाइए पनि निरन्तर मूल्यवृद्धि र आपूर्ति असहज हुँदा निर्माण कार्य सुस्त बन्न पुगेको छ । लागत धान्न नसक्ने अवस्थामा पुगेपछि धेरैले मजदुर सङ्ख्या घटाउन बाध्य भएको निर्माण व्यवसायी बताउँछन् ।

सतबाँझ–श्रीभावर सडकखण्ड निर्माणको जिम्मा लिएको इन्द्रधनु निर्माण सेवाका सञ्चालक राजेन्द्रबहादुर चन्दले मूल्यवृद्धिका कारण ठुला योजनासमेत रोक्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँका अनुसार पहिले करिब ८० जनासम्म कामदार परिचालन गरिएकामा हाल आठदेखि १० जनामा सीमित गरिएको छ । उहाँले भन्नुभयो, “मूल्य समायोजनको पर्खाइमा छौँ । यदि समायोजन भए पुनः कामदार बढाएर कामलाई तीव्रता दिन्छौँ ।”

सडक डिभिजन कार्यालय पाटन अन्तर्गत बैतडी, बझाङ र दार्च‘लाका विभिन्न प्याकेजमा निर्माण भइरहेको भए पनि मूल्यवृद्धिले समग्र प्रगतिमा असर पारेको डिभिजन प्रमुख किरण सुवेदीले जानकारी दिनुभयो । मध्यपहाडी राजमार्ग अन्तर्गत खोड्पे–सतबाँझ सडकखण्डमा मर्मत तथा पुनर्निर्माण भइरहेको भए पनि बिटुमिन जस्ता निर्माण सामग्री अभाव हुँदा काम प्रभावित बनेको सडक डिभिजन कार्यालय बैतडीका सूचना अधिकारी इन्जिनियर कपिल पन्तले बताउनुभयो ।

यस्तै बैतडीको गोकुलेश्वर क्षेत्र अन्तर्गत पङसेरा–धामीगाउँ सडकखण्डमा पनि कामको गति घटेको छ । सो सडक निर्माण गरिरहेको कैलाश कन्स्ट्रक्सनका सञ्चालक अमित रावलका अनुसार पहिले दैनिक ५०–६० जना कामदार परिचालन गरिने गरेकामा हाल पाँच/छ जनामा सीमित गरिएको छ ।

सुदूरपश्चिमकै गौरवको आयोजनाका रूपमा रहेको महाकाली कोरिडोरमा समेत मूल्यवृद्धिको प्रभाव देखिएको छ । ग्वाल्लेक निर्माण सेवाका सञ्चालक सुरेशबहादुर चन्दले आयोजनाको कार्यसम्पादनमा प्रत्यक्ष असर परेको बताउनुभयो ।

पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख धीरेन्द्र भट्टका अनुसार जिल्लाभर सञ्चालनमा रहेका सानाठूला सबै योजनामा महँगीको प्रभाव परेको छ ।

कञ्चनपुरदेखि दार्च‘लाको तिङ्करसम्म फैलिएको महाकाली कोरिडोरमा १३ वटा प्याकेजमार्फत निर्माण कार्य भइरहेको छ । आयोजनाका प्रमुख ईश्वर कार्कीका अनुसार मूल्यवृद्धिका कारण निर्माण व्यवसायीले काम सुस्त बनाएका छन् । उहाँले ब्रह्मदेवदेखि त्रिशूली धारासम्म ११ किलोमिटर, सुर्नयाखोलादेखि धनथलासम्म ५८ किलोमिटर, बैतडी क्षेत्रमा १४४ किलोमिटर र दार्च‘लामा १२१ किलोमिटर सडकखण्डमा काम भइरहेको जानकारी दिनुभयो । धनथलादेखि तुसारपानीसम्मको ७९ किलोमिटर सडकखण्ड नेपाली सेनाले निर्माण गरिरहेको पनि उहाँले बताउनुभयो ।

निर्माण व्यवसायीले मूल्यवृद्धि समायोजन नगरेसम्म काम गर्न कठिन हुने भन्दै सरकारसँग लागत समायोजनको माग गरेका छन् । 

यसैबिच ग्रामीण क्षेत्रका सडकको अवस्था अझै दयनीय रहेको सरोकारवालाले बताएका छन् । सतबाँझ–श्रीभावर सडकखण्डमा सञ्चालन हुने सवारीचालक सुरेश विष्टका अनुसार वर्षायाममा सडक हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा सवारी सञ्चालन गर्न कठिन हुने गरेको छ ।