सानाआ, यमन, भदौ १६ गते । यमनमा सक्रिय हुथी समूहद्वारा आइतबार संयुक्त राष्ट्रसङ्घका ११ जना कर्मचारीलाई नियन्त्रणमा लिएको घटनाप्रति महासचिव एन्टोनियो गुटेरेसले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।
महासचिवले एक विज्ञप्ति जारी गर्दै सो गिरफ्तारीको निन्दा गर्नुका साथै सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभएको छ । उहाँले संयुक्त राष्ट्रसङ्घ तथा मानवीय कार्यमा संलग्न संस्थाका कर्मचारीलाई सुरक्षित वातावरणमा कार्य गर्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने कुरामा जोड दिनुभयो ।
महासचिव गुटेरेसले यसअघि पनि यस्ता घटनाको प्रतिवाद गर्दै आउनु भएका थिए र यस पटक पुनः गिरफ्तार गरिएका सबै व्यक्तिको बिना शर्त र शीघ्र रिहाइको माग गर्नुभएको छ । उहाँले राष्ट्रसङ्घका कार्यालयमा जबर्जस्ती प्रवेश गरिएको, सम्पत्ति कब्जा गरिएको र अन्य कार्यालयमा छिर्न खोजिएको घटनाप्रति पनि गम्भीर चिन्ता प्रकट गर्नुभएको छ ।
संयुक्त राष्ट्रसंघका यमनका लागि विशेष दूत हान्स ग्रुनबर्गका अनुसार, पछिल्लो गिरफ्तारीसँगै यमनको उत्तर क्षेत्रमा नियन्त्रणमा रहेका राष्ट्रसङ्घका कर्मचारीको सङ्ख्या ३४ पुगेको छ । यता, हुथी पक्षले विगत केही दिनयता इजरायली हवाई आक्रमणका कारण आफ्ना केही उच्चपदस्थ व्यक्तिको मृत्यु भएको जानकारी गराएको छ । उक्त घटनापछि उनीहरूबाट प्रतिक्रिया स्वरूप केही कडा अभिव्यक्ति सार्वजनिक भएका छन् । महासचिवले राष्ट्रसंघ र यसको साझेदार संस्था यमनका जनताको हितमा समर्पित रहेको स्पष्ट पार्दै, शान्तिपूर्ण र स्थायी समाधानका लागि सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनु भएको छ । रासस/सिन्ह्वा