काठमाडौँ, भदौ १६ गते । नेपालमा ओलम्पिक विवाद निम्त्याएको भन्दै ओलम्पिक कमिटी अफ एसिया (ओसिए)ले नेपाल घोड्चढी सङ्घका अध्यक्ष रवि राजकर्णिकार र नेपाल ट्रायथलन सङ्घका अध्यक्ष निलेन्द्रराज श्रेष्ठलाई दुई वर्ष प्रतिबन्ध लगाएको छ ।
ओसिएको हालै बसेको कार्यकारी वोर्ड बैठकले इथिक्स कमिटीको निर्णय र सिफारिसका आधारमा रवि र निलेन्द्रलाई ओसिएसँग सम्बन्धित कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।
ओसिए इथिक्स कमिटीका अध्यक्ष देवेन्द्रनाथ सारङ्गीले रवि र निलेन्द्रलाई पत्राचार गदै निलम्बनको जानकारी गराउनुभएको छ । उक्त खबर जीवनराम श्रेष्ठको अध्यक्षतामा रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई जानकारी गराईएको छ । ओसिएको प्रतिबन्धको निर्णय तत्कालै कार्यान्वयनमा आउने उल्लेख छ ।
रवि र निलेन्द्र हाल नेपाल सरकारको मान्यतामा प्राप्त ध्रुवबहादुर प्रधान संयोजक रहेको एनओसी तदर्थ समितिको सदस्य समेत हुनुहुन्छ ।
जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको एनओसीलाई सरकारले अवैधानिक घोषणा गरेको छ भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओसिएको मान्यता छ ।
यसअघि प्रधान नेतृत्वलाई आइतबार मात्र ओसिएले आफ्नो लोगो प्रयोग नगर्न चेतावनी दिएको थियो । प्रधानले भने अन्तर्राष्ट्रिय मान्यता आफुहरूको समितिलाई भएको दाबी गर्दै आउनुभएको छ ।