• १६ भदौ २०८२, सोमबार

शिक्षा विधेयकको विरोधमा बस र्‍याली

blog

विधेयकको विरुद्धमा प्रदर्शनमा उतारिएका स्कुल बसहरू ।

बोमलाल गिरी

नवलपुर, भदौ १६ गते । निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित शिक्षा विधेयकको विरोधमा नवलपुर सदरमुकाम कावासोतीमा बस तथा भ्यान र्‍याली निकालेका छन् । देशव्यापी आन्दोलनको कार्यक्रम अन्तर्गत नवलपुरमा पनि स्कुल बस र भ्यानलाई दोस्रो पटक सडकमा उतारेर प्रदर्शन गरिएको हो । 

र्‍यालीपछिको कोणसभालाई सम्बोधन गर्दै नीजि विद्यालयको छाता सङ्गठन प्याब्सन नवलपुरका अध्यक्ष हरिहर अधिकारीले शिक्षा विधेयकले विद्यालयलाई गैर नाफामूलक बनाउन लागेको भन्दै कम्पनीमार्फत सञ्चालित विद्यालय गैर नाफामूलक हुनै नसक्ने बताउनुभयो । 

कैयौं विद्यालयहरूले बैँकबाट ऋण लिएर सञ्चालन गरेको भन्दै उहाँले विद्यालयलाई गैर नाफामूलक संस्था बनाउने हो भने भोलिका दिनहरूमा वित्तीय संस्थाबाट ऋण प्राप्त गर्न नसकी बन्द हुने अवस्थामा पुग्ने तर्क गर्नुभयो । 

त्यस्तै, उहाँले अहिले विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्ति दिइरहेको दाबी गर्दै त्योभन्दा बढाउन नसकिने बताउनुभयो । अधिकारीले सरकारले किताब, कापी, स्टेसनरी, जुत्ता, मोजा, बसभाडा, आवास सबै निःशुल्क विद्यालयले उपलब्ध गराउनु पर्छ भनेर ऐनमै व्यवस्था गर्न खोजेको भन्दै त्यसमा आफूहरूको आपत्ति रहेको बताउनुभयो । त्यो सुविधा उपलब्ध गराउन नसकिने उहाँको भनाइ छ ।  

झण्डै दुई वर्षको छलफल र बहसपछि संसदीय समितिले आफ्नो प्रतिवेदनसहित, विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेस गरेको छ । गत भदौ ५ गते बहुमतका आधारमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पारित गरेको प्रतिवेदनप्रति असहमति जनाउँदै नीजि विद्यालय सञ्चालकहरू आन्दोलनमा छन् । 

उनीहरूले आफूहरूको माग सम्बोधन नभए भदौं १८ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्द गर्ने चेतावनी यसअघि नै दिइसकेका छन् ।