गुणबहादुर रोका
सुलीकोट, भदौ १६ गते । गोरखाको पालुङटार नगरपालिका–६ कालामाटा र तनहुँको भानु नगरपालिका–३ चामबास जोड्ने मर्स्याङ्दी नदीमा मोटरेबल पुल निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास निर्देशनालय पोखराको बजेटबाट मर्स्याङ्दी नदीमा निर्माण भएको दुई जिल्ला जोड्ने मोटरेबल पुल मर्स्याङ्दी नदीमाथि ११५ मिटर लम्बाई र ११ मिटर चौडाई लामो सिंगल स्पाम आरसिसि प्राबिधिको मोटरेबल पुल निर्माण भएको हो ।
पुल निर्माणसँगै पालुङटार नगरपालिका ६ र तनुहँको–३ चामबासका स्थानीय बासिन्दालाई १२ महिना सवारीसाधन आवतजावतमा सहज हुने पालुङटार नगरपालिकाका प्रमुख बिबश चिन्तनले जानकारी दिनुभयो ।
पालुङटार नगरबासीलाई चामबास पुग्नका लागि घण्टैसम्म लाग्ने गरेकोमा पुल निर्माण भएपछि भानु नगसरपालिकाबाट पालुङटार नगरपालिका हुँदै गोरखा सदरमुकामसम्म सहजै पुग्न सकिने भएको पालुङटार नगरपालिकाले जनाएको छ ।
पुल निर्माण भएपछि १२ महिना सवारीसाधन आवतजावतमा सहज हुनुका साथै दुरी छोटिनुका साथै दुई जिल्लाका व्यापार व्यवसायमा पनि सहज हुने भएको पालुङटार नगरपालिकाका प्रमुख चिन्तनको भनाइ छ ।
पूर्वाधार विकास निर्देशनालय पोखराका प्रमुख दिनेश घिमिरेका अनुसार सो पुल निर्माणका लागि २०७६ साल कात्तिक ८ गते शु्क्रबार लुम्बिनी नेशनल जेभी काठमाडौंसँग १३ करोड ७६ लाख १९ हजार ४७० रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।
पुल निर्माण सम्पन्न भने २०८२ साल पुस ५ गते शनिबार सम्पन्न गर्नुपर्ने सम्झौता उल्लेख भएपनि निर्माण कम्पनीको कुशल व्यवस्थापनले ५ महिना अगाबै मोटेरबल पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास निर्देशनलय पोखराले जनाएको छ ।
मर्स्याङ्दी नदीमा पुल निर्माण सम्पन भएपछि पालुङटार नगरपालिका व्यापारिक हब बन्ने भएको छ, नगरप्रमुख चिन्तनले भन्नुभयो, ‘पालुङटार नगरपालिका गोरखा, लमजुङ र तनुहँको केन्द्र बिन्दु भएकाले मोटरेबल पुल निर्माणले सहजै व्यापार व्यवसायमा वृद्धि भई आयआर्जनमा टेवा पुग्ने विश्वास छ ।’