खार्तुम, भदौ १६ गते । सुडानमा जारी हिंसात्मक द्वन्द्वले देशका ऐतिहासिक र सांस्कृतिक सम्पदालाई गहिरो क्षति पुर्याइरहेको छ । १८ औँ शताब्दीमा शक्ति केन्द्रका रूपमा ख्याति कमाएको एक भवन, जसले लामो समयदेखि सङ्ग्रहालयको रूपमा सेवा दिँदै आएको थियो, अहिले तोपगोला र गोली प्रहारले क्षतविक्षत बनेको छ ।
भवनभित्रका झ्याल चकनाचुर छन्, अनि सङ्ग्रहमा रहेका अमूल्य वस्तु टुक्रा-टुक्रा भएर विखण्डित अवस्थामा छन् । इतिहास संरक्षणको थलो अहिले युद्धले तहस-नहस बनाएको खण्डहरमा परिणत भएको छ । पश्चिमी सुडानको डारफुर क्षेत्रस्थित एल-फाशर सहरमा रहेको अली दिनार सङ्ग्रहालय, जुन सो क्षेत्रमा सबैभन्दा ठूलो थियो, हालैको भीषण लडाइँका कारण पूर्णरूपमा नष्ट भएको बताइएको छ ।
त्यस्तै, दक्षिण डारफुर राज्यको राजधानी न्यालामा रहेको अर्काे संग्रहालय पनि पहुँच बाहिर रहेको स्थानीय स्रोतहरूले जनाएका छन् । ती स्रोतका अनुसार,“सङ्ग्रहालय वरपरको क्षेत्र पूर्णरूपमा ध्वस्त भइसकेको छ । अहिले त्यहाँ केवल आरएसएफका लडाकुहरू मात्र आवतजावत गर्न सक्छन् ।”
सङ्ग्रहालय सैनिक आधारशिविरमा रूपान्तरण
सुदीर्घ समय बन्द रहेपछि पुनः निर्माण गरी सञ्चालनमा ल्याइएको एक सङ्ग्रहालय अहिले सैनिक प्रयोगका लागि उपयोग भइरहेको छ । सांस्कृतिक सम्पदा क्षेत्रका जानकार अब्दुल लतीफले भन्नुभयो,“यो सङ्ग्रहालय, जुन लामो प्रतीक्षापछि सर्वसाधारणका लागि खुला गरिएको थियो, अहिले सैनिक आधारशिविरमा रूपान्तरण भइसकेको छ ।”
सुडानको गृहयुद्धले केवल मानवीय जीवनमा मात्र नभई, देशको सांस्कृतिक पहिचान र ऐतिहासिक सम्पदामा पनि गम्भीर आघात पुर्याएको विश्लेषकहरुले बताउनुभएका छन् । यस्तो अवस्थामा यस्ता थलो संरक्षण गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित हुनु अत्यावश्यक देखिन्छ । रासस/एएफपी