• १६ भदौ २०८२, सोमबार

कञ्चनपुरमा बाढीका कारण चार दर्जन परिवार विस्थापित

blog

डुबानमा परेका दोधारा चाँदनीका स्थानीयलाई सुरक्षित स्थानमा लगिँदै । तस्बिर : सामाजिक सञ्जाल

भवानीदत्त भट्ट

कञ्चनपुर, भदौ १६ गते । कञ्चनपुरमा बाढीका कारण झन्डै ४ दर्जन परिवार विस्थापित भएका छन् । लगातार वर्षापछि जोगबुडा नदीमा आएको बाढीका कारण १ सय २५ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो । 

प्रहरीका अनुसार जिल्लाको दोधारा चाँदनी नगरपालिका–८, रामपुरेटापुमा २५ घरपरिवारका ७० जनालाई नजिकैको जनज्योति माध्यमिक विद्यालयमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बाढीका कारण घर डुबानमा परेपछि उनीहरूलाई सोमबार बिहान सुरक्षित स्थानमा लगिएको हो । यसैगरी, सोही पालिकाको वडा ३, पटेराखल्लाका १५ परिवार पनि डुबानमा परेका छन् । १५ परिवारका ५५ जना र पशु चौपाया तथा सरसामान सहित उनीहरूलाई जमुना आधारभूत विद्यालय जमुनाघाडीमा राखिएको प्रनाउ बोहराले बताउनुभयो । 

लगातारको बाढीका कारण भीमदत्त नगरपालिका-११, भुलेजा खोलामा आएको बाढीका कारण भुजेकाका पनि पाँच घर डुबानमा परेको प्रनाउ बोहराले बताउनुभयो । उनीहरूलाई सरसामान सहित घरको छतमा राखिएको उहाँले बताउनुभयो । लगातारको वर्षाका कारण महाकाली नदीमा पनि पानीको बहाव निरन्तररूपमा बढ्दै गएको प्रहरीले जनाएको छ । 

सोमबार दिउँसो १२ बजेको मापन अनुसार, महाकालीमा पानीको बहाव १ लाख ५१ हजार ९८ क्युसेक पुगेको प्रनाउ बोहराले जानकारी दिनुभयो । महाकाली नदीमा पानीको बहाव बढेपछि ठुला सवारी साधन आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।