• १६ भदौ २०८२, सोमबार

जिल्ला प्रशासन कार्यालयमा भिड बढेपछि सेवाग्राहीलाई सास्ती

blog

जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन आएका सेवाग्राहीहरू । तस्बिर : सुधा देव

सुधा देव

भारदह(सप्तरी), भदौ १६ गते । जिल्ला प्रशासन कार्यालय सप्तरीमा राष्ट्रिय परिचयपत्र बनाउनेको चाप बढेपछि सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ । विशेषगरि बैंकमा खाता खोल्न, सामाजिक सुरक्षा भत्ताको नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि असार पहिलो सातादेखि कार्यालयमा सेवाग्राहीको चाप बढेको हो ।

बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड हुँदै आएपछि सेवाग्राहिले सास्ती व्यहोर्नुपरेको हो । कार्यालयमा बिहान ८ बजेदेखि टोकन बाँड्ने हुनाले टोकनका लागि जिल्लाका विभिन्न पालिकाबाट युवादेखि वृद्धवृद्धासम्म बिहानै जिल्ला प्रशासन कार्यालय आइपुग्नुपर्ने बाध्यता छ । 

सेवा ग्राहीको चाप बढी र सिमित श्रोत साधन जनशक्तिका कारण एक जनालाई चारदिनसम्म धाउनुपर्ने बाध्यता छ । सप्तरीको रूपनी गाउँपालिका छपकी ७९ वर्षिया सुखनी देवी सदाले ४ दिन धाएपछि बल्ल राष्ट्रिय परिचपत्रका लागि फोटो खिच्न सकेको बताउनुभयो । उहाँले भन्नुभयो, "हामी विपन्न समुदाय सामाजिक सुरक्षा भत्ताको भरमा छौँ । फोटो खिचेर राष्ट्रिय परिचयपत्रका लागि प्रक्रिया नपुर्‍याएसम्म कार्ड नविकरण भएन भने कसरी जीवन धान्ने चिन्ता थियो । तर अब खुशी छु ।"

राजविराज नगरपालिका १६ कि बुधनी सदाले पनि दुई दिन कार्यालय धाएपछि फोटो खिचाउन भ्याएको बताउनुभयो । जिल्लामा रहेको १८ पालिकामध्ये १४ पालिकाका सेवाग्राहीलाई सदरमुकाम आएर फोटो खिचाउनुपर्ने बाध्यता भएपछि समस्या भएको हो । घरबाट आउन, जान र पालो पर्खन समस्या भएको उहाँले बताउनुभयो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले सेवाग्राहीलाई सहज रूपमा सेवा दिनका लागि प्रयास थालेको बताउनुभयो । उहाँले भन्नुभयो, झराज्यले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपनि यो सुलभ हुन सकेको छैन । जनसंख्या बढी भएको जिल्लामा सेवाग्राहीको चाप बढ्नु स्वभाविक भएकोले यसलाई व्यवस्थित गर्दै शनिवार पनि यो सेवा दिने प्रयासमा रहेको बताउनुभयो । अहिले यस कार्ययालयमा दिनहुँ तीन सयदेखि तीनसय ५० जनाको फोटो खिचिरहेको उहाँले बतनउनुभयो । सेवाग्राहीको चाप बढेपछि लाइन लाग्ने ठाउँ समेत नभए थप समस्या भएको उहाँले जानकारी दिनुभयो ।

जिल्लाको भएका पालिकाहरू मध्ये शम्भुनाथ, सुरूङ्गा, हनुमान कंकालिनी, खडक नगरपालिका, तिरहुँत, तिलाठी कोइलाडी रूपनी, गाउँपालिका ७ पालिकाको आइतबार, सोमबार र मंगलबार र राजविराज, डाक्नेश्वरी नगरपालिका, अग्नि साइर कृष्णासवरण, छिन्नमस्ता, विष्णुपुर, राजगढ, महदेवा गाउँपालिका गरि ७ वटा पालिकाको सेवाग्राहीको बुधबार , बिहिवार र शुक्रबारका दिन फोटो खिच्नका लागि तोकिएको छ । 

बाँकी रहेको पालिकाको स्थानीय इलाका प्रशासन कार्यालय भइरहेको छ । जिल्लामा १८ पालिमा ९ नगरपालिका र ९ गाउँपालिका रहेको छ ।