गुणबहादुर रोका
सुलीकोट, भदौ १६ गते । गोरखाको पालुङटार नगरपालिकाको ३ वडामा रोपिएको धान बालीमा मरुवा रोग लागेपछि किसानहरू चिन्तित भएका छन् । पालुङटार नगरपालिकाको चार सय दस रोपनी क्षेत्रफलमा लगाईएको धान बालीमा मरुवा रोग लागेर धान बाली पहेलै भएपछि स्थानिय किसानहरू चिन्तित भएका हुन् ।
पालुङटार नगरपालिकाको वडा नम्बर ८ को हजारफाँटको ४ सय रोपनी, ६ नम्बर वडाको पौवाटार फाँटमा ५ रोपनी र वडा नम्बर ४ को बाह्रपिर्के फाँटमा ५ रोपनी क्षेत्रफलमा लगाईएको मंसुली, गोरखानाथ र साबित्री धानमा मरुवा रोग देखिएपछि पालुङटारका किसान चिन्तित बनेको पालुङटार नगरपालिका-८ का किसान वसन्त अर्यायले जानकारी दिनुभयो ।
मरुवा रोग नेपालको धान बालीमा लाग्ने एक खतरानाक रोग भएकाले यसले बाली उत्पादनमा २० प्रतिशत क्षति गरेको पाइएको छ । सुरुमा यो रोग लागेको धान बालीको पातमा साना खैरा काला दाग देखा पर्दछन् । विस्तारै यो रोग बढ्दै जान्छ र ठुला र काला थोप्लाको बिचमा सेतो आकार भएको डुङ्गा आकृतिको दागहरू प्रष्ट रूपमा पालुङटारको धान बालीमा देखिएको कार्यालय प्रमुख प्रकाश बस्ताकोटीको भनाइ छ ।
यो रोग धानको बेर्ना अवस्था वानस्पतिक वृद्धि अवस्था तथा बाला पसाई सकेपछि पछि लाग्ने गर्छ, बाली संरक्षण अधिकृत अम्बदत्त विष्टले भन्नुयभो, "पसि सकेको बालको घाँटीमा आक्रमण भएमा बाला देखि तलको डाँठको वरिपरी खैरो दाग देखिन्छ । जसलाई नेक ब्लाष्ट बालामा लाग्ने मरुवा भनिज्छ र यसले गर्दा बाली उत्पादनमा १०० प्रतिशत सम्म नोक्सन पुर्याउँछ ।"
धान बालीमा मरुवा रोग लागेको जानकारी कृषि ज्ञानकेन्द्रमा गराएपछि कृषि ज्ञान केन्द्रको प्राविधिक टिमले अनुगमन गरी किसानलाई खेतमै बोलाई व्यवस्थापनको उपाय बारे जानकारी गराई ढुसीनासक विषादी टाइसिएकोजोल ७५ प्रतिशत ०.७५ प्रतिशत जि अन लिट पानीमा मिसाई स्प्रे गर्ने गरी कृषि ज्ञान केन्द्रबाट ४ सय १० रोपनी क्षेत्रफलमा पुग्ने गरी वितरण गरिएको बाली संरक्षण अधिकृत विष्टको भनाइ छ ।
किसानले उन्नत बिउको प्रयोग नगर्नु, बिउको स्रोत एकिन नगर्नु, घरकै खाद्यान्न धानलाई बिउको रूपमा प्रयोग गर्नु, धानको बिउको उपचार नगरीकन बेर्ना छर्नु र समयमै क्षतिको अवलोकन नहुनु तथा कृषि कार्यालयलाई जानकारी ढिलो दिनले पनि यो रोग फैलिएको कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले बताउनुभयो ।
यो रोग विशेषगरी सक्रमति पानी, परालका ठुटा तथा झारपातहरूबाट सर्दछ । धानमा ब्याड अवस्थादेखि नै लाग्ने यो रोगको विकासका लागि ओसिलो, न्यानो र २१ डिग्री सेल्यिस तापक्रको अवस्था उत्तम वातावरण मानिन्छ ।
पातमा शीतका थोपाहरू रहि रहने र नाइट्रोजनको मल बढी प्रयोग भएमा बिरुवा कलिला र हरिया छन् भने यस रोग महामारीको रूपमा फैलन सक्छ । यस रोगलाई सजिलै सहने सक्ने धान बालीहरूमा खुमल ४, राधा ४, चन्दाननाथ १ र चन्दानाथ २ धान लगाउन उपयु्क्त हुने कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।
पालुङटार-८ हजार फाँटका किसान वसन्त अर्यायलले कृषि ज्ञान केन्द्रको प्राविधिक टोलीले अनुगमन गरी बिषादी वितरण गरेपछि धानबालीमा सुधार हुँदै गएको उहाँले बताउनुभयो ।