• १६ भदौ २०८२, सोमबार

उपप्रमुख डङ्गोल जेनेभा प्रस्थान

blog

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौँ, भदौ १६ गते । भदौ १७ गते देखि १९ (सेप्टेम्बर २–४) सम्म स्वीजरल्यान्डको जेनेभामा आयोजना हुने विश्व युवा शिखर सम्मेलनमा भाग लिन काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । 

द फोरम अफ यङ् ग्लोबल लिडर्सले नयाँ युगलाई हाँक्न नेतृत्व तयारीका लागि सम्मेलन आयोजना गरेको हो । फोरममा ४० वर्षभन्दा कम उमेरका युवा नेताहरू हुनुहुन्छ । यसमा शिक्षा, आर्ट, कल्चर एन्ड स्पोर्टस, व्यापार, नागरिक समाज, मिडिया, जनप्रतिनिधि, सामाजिक उद्यमशीललगायत क्षेत्रबाट प्रतिनिधित्व छ ।

सम्मेलनमा विभिन्न विधामा नेतृत्व गर्ने युवाहरूबिच आपसी संवाद र सञ्जाल निर्माण हुने छ । यस्तै, यङ् ग्लोबल लिडरहरूबिचका आपसी सिकाइ र अनुभव आदान प्रदान हुने छ । यसले विश्वका फरक क्षेत्र र परिवेशलाई बुझ्न मद्दत गर्ने छ । सम्मेलनमा भाग लिन जानुअघि डङ्गोलले संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, ‘युवा विश्व नेता चयन भइसकेपछिको यो पहिलो बैठक हो । यसले फरक परिवेशका सम्भावनाहरु जान्ने अवसर प्रदान गर्ने छ । यसको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको विभिन्न विधाको नेतृत्व गर्ने युवाहरू एकै ठाउँमा हुनु हो । यसले विश्वको परिवेश बुझेर आफ्नो क्षेत्र अगाडि बढाउन परिपक्वता प्रदान गर्ने छ ।’

परिवर्तनशील संसारको नेतृत्वमा साहस, स्पष्ट मार्गचित्र र सामूहिक उद्देश्य सम्मेलनको अपेक्षित नतिजा भएको डङ्गोलले बताउनुभयो । सम्मेलनमा उहाँका २ वटा प्रस्तुतीकरण हुने छन् ।

गत वैशाखमा उपप्रमुख डङ्गोल, विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन हुनुभएको हो । युवाहरुलाई प्रेरणा प्रदान गर्ने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञका रूपमा उहाँलाई चयन गरिएको हो ।

यसमा दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिनु भएको छ । त्यसमध्ये नेपालबाट छानिनेमा डङ्गोल मात्र हुनुहुन्छ । विभिन्न ५० देशबाट प्रतिनिधित्व रहेको यस समूहमा ७ क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै उपप्रमुख डङ्गोल चयन हुनुभएको छ । यस समूहमा ४० वर्षभन्दा कम उमेर भएका विश्वका ११६ जना युवा नेतृत्व हुनुहुन्छ । डङ्गोल यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौँ हवको सदस्य हुनुहुन्थ्यो ।