• १६ भदौ २०८२, सोमबार

पहिरोले एक घर विस्थापित, चार घर जोखिममा

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ १६ गते । ताप्लेजुङको सिरिजङ्घा–५ पेदाङमा पहिरोले एक परिवारलाई विस्थापित बनाएको छ । आइतबार रातिको भीषण वर्षासँगै गएको पहिरोका कारण पेदाङको होक्मा टोलका एक परिवार विस्थापित र चार घर जोखिममा परेका छन् । 

पेदाङका वडाध्यक्ष बमप्रसाद गौतमका अनुसार स्थानीय हाङमाया थुङ्गिम लिम्बूको परिवारलाई पहिरोले विस्थापित गरेको छ । यस्तै सोही टोलका अन्य चार घर पहिरोका कारण उच्च जोखिममा परेका वडाध्यक्ष गौतमले जानकारी दिनुभयो ।

पहिरोमा परेका केही पशुचौपायाको उद्दार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको स्थानीय खेलप्रसाद बुडाक्षेत्रीले जानकारी दिनुभयो । पहिरोबाट मानवीय क्षति भने हुन नपाएको पनि बुढाक्षेत्रीको भनाइ छ । यता पहिरोले विस्थापित भएको परिवारलाई उचित राहतको व्यवस्था गर्न र जोखिममा परेका परिवारको सुरक्षाको प्रबन्ध गर्न उहाँले विभिन्न तहका सरकारसँग माग गर्नुभएको छ ।

यता आइतबार राति नै सोही क्षेत्र अर्थात् सिरिजङ्घा गाउँपालिका–१ स्थित माथिल्लो काबेली जलविद्युत् आयोजनाको विद्युत् गृह क्षेत्रमा रहेको दुईवटा एक्साभेटर (मेसिन) र दुई वटा टिप्पर काबेली खोलामा आएको बाढीले बगाएको छ । प्रहरीका अनुसार काबेली खोलाले बगाएको एक्साभेटर विद्युत् गृहभन्दा करिब २० मिटर तल खोलामा डुबेका अवस्थामा देखिएका छन् भने टिप्परहरु हालसम्म फेला नपरेका प्रहरीले जनाएको छ ।