ललित बसेल
सुर्खेत, भदौ १६ गते । सुर्खेतसँगै सिमाना जोडिएको दैलेखको गुराँस गाउँपालिका–४, साल्तडाका किसानले कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहलाई किसानले मकैमा रोग लागेको भन्दै फोन गरेका छन् । ती किसानले फोन गरेको २४ घण्टाभित्रै मन्त्री शाहले आइतबार विज्ञसहितको टोली लिएर किसानको खेतबारीमा अनुगमन गर्नुभएको छ ।
साल्तडामा मकैको बिउ उत्पादनका लागि पाँच हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैमा रोग देखिएपछि किसान चिन्तित बनेका थिए । किसान तेजबहादुर शाहीले आठ हेक्टरभन्दा बढी क्षेत्रफल रहेको साल्तडामा पाँच हेक्टरमा मकै, आँप र केराको खेती गरिएको बताउनुभयो । उहाँले पाँच हेक्टर जग्गामा लगाइएको मकैमा रोग लागेर सखाप पारेको जानकारी दिनुभयो ।
वार्षिक आठ टनभन्दा बढी मकैको बिउ उत्पादन हुने क्षेत्रमा गत वर्ष र यस वर्ष रोग किरा लागेर ५० प्रतिशतभन्दा बढी बाली नष्ट भएको उहाँले जनाउनुभयो । उहाँले मन्त्रीलाई मकैमा रोग लागेकाले के गर्ने भन्दै फोन गरेको बताउनुभयो ।
मन्त्री शाहसँगै फिल्ड अनुगमनमा पुगेका एकीकृत कृषि प्रयोगशाला सुर्खेतका बाली विकास अधिकृत यामबहादुर रानाले मकैमा कम्प्लेक्स टाइपको रोग देखिएको जानकारी दिनुभयो । उहाँले मकैमा थेग्ले, घोगा कुहिने र काण्ड कुहिने रोग देखिनुका साथै खाद्य तत्वको पनि कमी भएको बताउनुभयो ।
रोगको उपचारका लागि आवश्यक प्रयत्न गर्न कृषकले खेती गर्दा अबका दिनमा बाली चक्र प्रणाली अपनाउनुपर्ने, रोग सहन सक्ने क्षमता भएका जातका बाली लगाउने, खेतबारीको सरसफाइ गर्ने र पर्याप्त सिँचाइ व्यवस्था गरी खेती प्रणाली परिवर्तन गर्ने गरेमा रोगबाट बच्न सकिने सुझाव उहाँले दिनुभयो ।
अनुगमनपछि मन्त्री शाहले दैलेखको साल्तडा कृषि उत्पादनका लागि सम्भावना बोकेको क्षेत्र भएको बताउनुभयो । उहाँले किसानलाई समस्या भएको मन्त्रालयलाई जानकारी हुनेबित्तिकै किसानको बारीमा प्राविधिकसँग सरकार उपस्थित भएर समस्या समाधानका लागि अनुगमन गरिएको जनाउनुभयो ।
मन्त्री शाहले प्रदेश सरकारले कर्णालीलाई अर्गानिक प्रदेशका रूपमा विकास गर्न लागिरहेको बताउँदै यसमा किसानले साथ दिनुपर्नेमा पनि जोड दिनुभयो ।