• १७ साउन २०८२, शनिबार

बाँकेमा बढ्यो काठ उत्पादन

blog

जिल्लाको एक सामुदायिक वनमा घाटगद्धी गरी राखिएका दाउराका चट्टा । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, साउन १६ गते । बाँके जिल्लामा अघिल्लो आर्थिक वर्ष २०८०–०८१ मा भन्दा गत आर्थिक वर्ष २०८१–०८२ काठ उत्पादनमा वृद्धि भएको छ । अघिल्लो आवमा तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्यु फिट काठ उत्पादन भएकोमा गत आवमा चार लाख पाँच हजार ९८ दशमलव ०५ क्यु फिट काठ उत्पादन भएको हो ।

जिल्लाका विभिन्न सामुदायिक वन, राष्ट्रिय वन तथा निजी आवादी वनमा गरी गत आवमा चार लाख पाँच हजार ९८ दशमलव ०५ क्यु फिट काठ उत्पादन भएको डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत बाबुराम पोख्रेलले जानकारी दिनुभयो ।
वरिष्ठ वन अधिकृत पोख्रेललका अनुसार ८७ सामुदायिक वन, एउटा राष्ट्रिय वन (चक्ला वन) र निजी आवादी वनमा गरी उक्त मात्रामा काठ उत्पादन भएको हो । २४ वटा संवर्धन प्रणाली लागू भएका सामुदायिक वनबाट एक लाख ३२ हजार ८०० दशमलव १३ क्यु फिट, ६३ वटा संवर्धन प्रणाली लागू नभएका सामुदायिक वनबाट ७४ हजार ४१७ दशमलव ८४ क्यु फिट र एउटा संवर्धन प्रणाली लागू भएको राष्ट्रिय वन (शमसेरगन्ज माथेवास चक्ला वन)बाट ८७ हजार ६५३ दशमलव ६५ क्यु फिट काठ उत्पादन भएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी, विभिन्न व्यक्तिका निजी तथा आवादी वन क्षेत्रबाट गत आवमा एक लाख १० हजार २२६ दशमलव ४४ क्यु फिट गरी जम्मा चार लाख पाँच हजार ९८ दशमलव ०५ क्यु फिट काठ उत्पादन भएको उहाँले बताउनुभयो । तथ्याङ्कअनुसार समग्रमा काठ उत्पादनमा वृद्धि भएपनि संवर्धन प्रणाली लागू भएका सामुदायिक वनबाट हुने उत्पादनमा भने अघिल्लो आवमा भन्दा गत आवमा कमी आएको छ । त्यसैगरी संवर्धन प्रणाली लागू नभएका सामुदायिक वन, संवर्धन प्रणाली लागू भएको राष्ट्रिय वन (शमसेरगन्ज माथेवास चक्ला वन) र निजी तथा आवादी वन क्षेत्रबाट भने उत्पादनमा वृद्धि भएको छ ।

यसैगरी विभिन्न सामुदायिक वन (संवर्धन प्रणाली लागू भएका र नभएका)बाट विभिन्न जातका ८६५ दशमलव ६५ चट्टा, राष्ट्रिय वनबाट २९९ दशमलव ७१ चट्टा र निजी आवादी वनबाट १४५२ दशमलव ९६ चट्टा गरी जम्मा दुई हजार ६१७ दशमलव ९६ चट्टा दाउरा उत्पादन भएको छ ।

सामुदायिक तथा राष्ट्रिय वनबाट साल, असना, धौटी, जामुन, खयर, सिसौ, हर्रो, बर्रो, कर्मालगायतका प्रजातिका काठ तथा दाउरा उत्पादन भएको र निजी आवादी वनबाट मसला, टिक (सागवन), सिसौ, सिमल, खयरलगायतका प्रजातिका काठ तथा दाउरा उत्पादन भएको वरिष्ठ वन अधिकृत पोख्रलले जानकारी दिनुभयो ।

तथ्याङ्कअनुसार काठ दाउरा बिक्रीबाट गत आवमा ११ करोड ९५ लाख ४१ हजार ५६८ रुपियाँ राजस्व बापत सङ्कलन सरकारको खातामा जम्मा भएको छ भने ११ करोड ४७ लाख ६८ हजार ४८८ रुपियाँ विभिन्न सामुदायिक वनहरुले आम्दानी गरेका छन् ।

विगत तीन वर्षमा जिल्लामा लगातार काठ दाउरा उत्पादनमा वृद्धि हुँदै आएको तथ्याङ्क छ । आव २०७९–०८० मा विभिन्न जातका तीन लाख ५२ हजार दशमलव ८१ क्यु फिट काठ उत्पादन भएको थियो । आघिल्लो आवमा तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्यु फिट काठ उत्पादन भएको थियो भने गत आवमा चार लाख पाँच हजार ९८ दशमलव ०५ क्यु फिट काठ उत्पादन भएको हो ।