• १७ साउन २०८२, शनिबार

पाँचपोखरीमा टेलिमेडिशिन सेवा, प्रधानमन्त्रीद्वारा उदघाटन

blog

पाँचपोखरी गाउँपालिकामा टेलिमेडिशिन सेवाको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।

विदुर आचार्य

चौतारा, साउन १६ गते । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा रहेको पाँचपोखरी प्राथमिक अस्पतालमा शुक्रबार ‘बागमती डिजिटल हेल्थ शुभारम्भ कार्यक्रम’ अन्तर्गत टेलिमेडिसिन सेवाको औपचारिक उदघाटन भएको छ । 

यो सेवा बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको सहयोगमा, पाँचपोखरी थाङ्पाल गाउँपालिका, भक्तपुर अस्पताल र अन्य साझेदार संस्थाहरूको सहकार्यमा सुरु गरिएको हो । सेवाको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्नुभयो । 

कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, पूर्व संस्कृति, पर्यटन तथा वन मन्त्री तथा बागमती प्रदेशसभा सदस्य सरेश नेपाल, जुगल गाउँपालिका पूर्व अध्यक्ष होमनारायण श्रेष्ठ तथा पाँचपोखरी प्राथमिक अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति थियो ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले टेलिमेडिशिन सेवा सञ्चालनका लागि समन्वय गर्नुभएको हो ।  पाँचपोखरी थाङ्पाल गाउँपालिका विकासको दृष्टिले विकट क्षेत्र मानिन्छ । यद्यपि यो कार्यक्रमबाट स्थानीय बासिन्दाले आधुनिक स्वास्थ्य सेवा सजिलै प्राप्त गर्न सक्ने अवस्था सिर्जना भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिनुभयो । 

पाँचपोखरी गाउँपालिका अझै पनि पक्की सडकको पहुँचमा छैन । यस्ता दुर्गम क्षेत्रमा टेलिमेडिशिन सेवा पुग्नु ऐतिहासिक उपलब्धि भएको स्थानीयहरूले बताएका छन् । यसअघिको कार्यकालमा प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले देशभरका स्थानीय तहमा एकसाथ उदघाटन गरिएको स्वास्थ्य केन्द्रको निर्माण सम्पन्न भई अहिले सञ्चालनमा आइसकेको छ । 

अबदेखि भक्तपुर अस्पतालका चिकित्सकहरूले पाँचपोखरीका बिरामीलाई भर्चुअल रूपमा सेवा दिन सक्नेछन् । यसले टाढा रहेका बिरामी र चिकित्सकबिचको दूरीलाई हटाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । स्थानीय नागरिकहरूले यस्तो आधुनिक स्वास्थ्य सेवा गाउँमै उपलब्ध भएकोमा खुसी व्यक्त गरेका छन् ।