ठाकुरप्रसाद आचार्य
म्याग्दी, साउन १७ गते । बेनी नगरपालिका-२ मा रहेको पर्यटकीयस्थल लभ्लीहिलमा स्थानीय युवाहरूले सरसफाइ गरेका छन् । पर्यटकहरूले फालेको फोहोरले लभ्लीहिल कुरूप बनेपछि शनिबार बिहान ५० जना युवाहरू मिलेर सरसफाई गरेका हुन ।
लभ्लीहिलमा पुगेका पर्यटकहरूले प्लाष्टिकजन्य फोहोर, मदिराका बोत्तल, पानीका बोत्तललगायत फोहोर यत्रतत्र फालेका कारण पर्यटकीय स्थल कुरूप बनेपछि खबराका युवाहरूले फोहोर सङ्कलन गरी व्यवस्थापन गरेका हुन ।
घुमफिर र बेनीको सुन्दर दृश्यवलोकनका लागि लभ्लीहिलमा पुग्ने आन्तरिक पर्यटकहरूले फालेका प्लाष्टिकजन्य फोहोर, मदिराका बोत्तल, पानीका बोतल, कागज लगायत सङ्कलन गरी व्यवस्थापन गरिएको खबरका युवा दीपक सापकोटाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘लभ्लीहिलमा पुगेका पर्यटकहरूले जथाभाबी रूपमा फोहोर फालेको पाइयो । मादक पदार्थ सेवन गरेर बोत्तलहरू छरपस्ट रूपमा फालेका कारण पर्यटकीय स्थलका बारेमा नकरात्मक सन्देश प्रवाह भएकाले स्थानीय युवाहरू मिलेर सरसफाइ गरेका हौं । आगामी दिनमा सरसफाई अभियानलाई निरन्तरता दिई लभ्लीहिललाई चिटिक्क पार्ने छौं ।’’ दुई घण्टा लगाएर लभ्लीहिल क्षेत्रमा रहेको सबै फोहोर सङ्कलन गरिएको उहाँले बताउनुभयो ।
लभ्लीहिलमा साँझपख र विहानीको समयमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । यहाँबाट म्याग्दी र कालीगण्डकी नदीको दोभोनमा अवस्थित बेनी बजार, जलजलाको मल्लाज, धाइरिङ, म्याग्दीको राँखुपिप्ले, अर्थुङ्गे लगायतका बस्तीहरूको सु्न्दर दृश्य अवलोकन गर्न सकिन्छ । बर्षातका समय लभ्लीहिल हरियाली भएर सुन्दर देखिने गर्दछ ।
बेनीदेखि नजिकमा रहेको शान्त र मनोरम स्थान भएकाले लभ्लीहिललाई थप पर्यटकीय स्थलका रूपमा विकास गर्नका लागि स्थानीय सरकारले योजना बनाई बजेट विनियोजन गर्नुपर्ने स्थानीय युवा ध्रुवराज कार्कीले बताउनुभयो ।
लभ्ली पुग्नका लागि बेनीदेखि व्यवस्थित पदमार्ग समेत निर्माण गरिएको छ । पर्यटकको सुविधाका लागि यहाँ गोलघर (भ्यु प्वाइन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेञ्च राखिएको छ । विभिन्न फूलका बिरुवा रोपेर लभ्लीहिललाई थप आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको स्थानीय युवा कार्कीले बताउनुभयो ।