झन्डै तीन दशकपछि आफू जन्मेको ठाउँमा पुग्दा मलाई अवर्णनीय आनन्द अनुभूति भयो । मातृभूमिको माटोको सुगन्ध, हरियालीले ढाकिएका खेतबारी, कलकल बग्ने खोलानाला, पहराछहराको सुन्दरता, उकालीओरालीका चौतारीमा शीतल हावाको नरम स्पर्श अनुभवका लागि उत्सुक यो मनले केही आत्मसात् गर्न पाउँदा म खुसीले पुलकित भएँ । बाल्यकाल बिताएको माटोमा बर्सौंपछि पुग्दा मन अपूर्व आनन्दले प्रफुल्लित भयो । बालापनका मिठा यादले मनभरि उल्लास उमङ्ग छायो । सिद्धार्थ राजमार्गमा पोखरादेखि स्याङ्जा बजार जाने बाटोको बिचमा नाउँडाँडाबाट पश्चिमतर्फ पर्छ मेरो जन्मगाउँ निबुवाबोट ।
स्याङ्जा जिल्लाको आँधीखोला नगरपालिकास्थित निबुवाबोट प्रकृतिको काखमा रहेका सुन्दर बस्तीमध्येको एक गाउँ हो । जहाँ शुद्ध हावापानी, स्वच्छ वातावरण, हरियाली खर्सुको वन, कलकल बग्ने ठुल्छहरो र सान्छहरीको सौन्दर्यले मनै लोभ्याउँछ । मिरमिरेमा चराको चिरबिर आवाज, बिहान ठुलीबेँसीमाथिबाट सूर्योदयको सुनौलो झल्को, खर्सुको वनमाथि सूर्यास्त र त्यसपछिको गोधूलि साँझको बेला अनुपम हुन्छ । आत्मीय सम्बन्ध भएका गाउँलेको भलाकुसारीले मनलाई शान्त बनाउँछ । आफ्नो जन्मभूमि सम्झिँदा मात्र पनि हरेकको हृदयभरि उल्लासको भाव जागृत हुन्छ । बालापनका स्मृति जोकोहीका लागि पनि उत्तिकै मोहक हुन्छ । प्रेम, सम्मान, अनुशासन र संस्कारले हुर्काएको मेरो गाउँ निबुवाबोटले मलाई आफ्नो पवित्र आँचल फिँजाएर स्वागत गरेको आभास भयो । मातृभूमि भ्रमणमा समेटेका सम्झनाका छाललाई तरङ्गित बनाइरहन मन लागेको छ ।
नाउँडाँडा पुग्दादेखि नै न्यानो आमन्त्रण गरे जस्तो लाग्ने हाम्रो स्कुल भगवती माध्यमिक विद्यालय लामीस्वाँरा (लामसेरा) र छेउमा रहेको सयौँ वर्ष पुरानो शमीको रुख छर्लङ्ङ देखिन्छ, अति प्रिय लाग्छ । हाम्रो गाउँ निबुवाबोट र वरपर रहेका गाउँ तथा स्थान मलाई सधैँ नै याद आइरहन्छन् ।
नाउँडाँडाबाट झरेर सेतीखोला तर्दै गर्दा त्यहाँ नजिकैको सेतीखोला पावरहाउस देख्दा म सानो छँदा उद्घाटनका बेला राजा वीरेन्द्र र रानी ऐश्वर्य हरियो हेलिकोप्टरबाट झरेको झलझली सम्झिएँ । त्यसपछि आउँछ बराहे, जुन ठाउँमा आमाहरू सबेरै उठेर रातो माटो लिन जानुहुन्थ्यो, नजिकै होटेलमा चना, सेल रोटी, आलु र केराउको तरकारी पाइन्थ्यो ।
त्यसपछि पुगिन्छ सेती दोभान, सेतीखोला र आँधीखोलाको सङ्गम । यहाँको आँधीखोलामाथिको झोलुङ्गे पुलले फापरथुम, निबुवाबोट, नेपालको पहिलो होमस्टे सिरुबारीगाउँसम्म जोड्छ । हामी सानो छँदा सेती दोभानमा पुलको मुखमा भएका पसलमा दाम्ले मिठाई, सुन्तलाकेशरी, योयो चकलेट अनि सुकेका छोकडा पाइन्थ्यो, मैदानका हजुरबुवाको पसल अहिले पनि रहेछ । पुल तरेपछि ढाँडखेत पुगिन्छ । गाडी चल्ने पुल बनेछ अहिले । ढाँडखेतमा त ठुलै बस्ती भइसकेछ । माथि गाउँबाट बेँसी झरेर बस्नेको सङ््ख्या बढ्दो रहेछ । पहिले निबुवाबोटेको खेती गर्ने मुख्य ठाउँ सिम्ले अनि ढाँडखेत जहाँ दुध डेरी र मीना दिदीको मिल पनि थियो । जसले गाउँलेलाई दुध बेच्न र अन्न कुटनीपिसनी गर्न सहज बनाएको थियो ।
ममता र कौतूहलसँगै निबुवाबोटतर्फ लागेँ । ढाँडखेतबाट उकालो लाग्नेबित्तिकै फेदीको चौतारी आउँछ, जहाँ धेरै वर्ष पुराना बरपिपलको रुखले शीतलता छरिरहन्छन् । फेदीको चौतारी देखेर म झन् नोस्टाल्जिक भएँ । गाउँतिरका बुवाहरू लहरै बसेर फेदीमा बरपिपलको छहारीमा रमाइला गफ गरेर बस्नुहुन्थ्यो । खेताला भारी बिसाएर आराम गर्दै आनन्द लिन्थे, अहिले पैदलयात्री देखिएनन् । हामी स्कुले केटाकेटी रमाइलो मान्थ्यौँ, दोभानमा किनेका बिस्कुट चकलेट खाएर आनन्द लिन्थ्यौँ । त्यो चौतारीमा आन्तरिक आनन्द मिल्थ्यो । सायद त्यहाँको वातावरणमा अलौकिक ऊर्जा थियो । वैशाखमा माटाको घैँटोमा पानी र एउटा अम्खोरा राखिदिने चलन थियो । त्यो पानी खान पाउँदा हामी स्कुले केटाकेटी खुब खुसी हुन्थ्यौँ ।
त्यसपछि डिही आउँछ । त्यहाँको सुन्तलाघारी र डिहीका हजुरबुवा हजुरआमालाई सम्झँदै गम्डो पुगेँ । बालपनमा बेडुला आँखेपक्कुवा, खनियाँ खाएको र निरन्तर सललल बगिरहेको आँधीखोला हेर्ने गरेको क्षण सम्झिँदै श्रीथुम्का, बङ्गालेघर हुँदै थुम्का पुगियो । बाटाघरे र थुम्काका हजुरआमालाई भेट्दा अपार खुसी लाग्यो । त्यो माया, त्यो आत्मीयता, मलाई पहिलाकै निबुवाबोट जस्तै लाग्यो । जसले गर्दा मन चञ्चलतामा फुरुङ्ङ भयो ।
दुर्गामाताको मन्दिरमा दर्शन गरेपछि गैराबारी पुगिन्छ, जहाँ हाम्रा घर छन्, हेरेको हेर्यै भएँ, घरहरू पुराना भए पनि संरचना त उही नै थियो, रमाइलो लाग्यो । बाल्यकालका ती दिन, ती स्वर्णिम याद आइरहे । दक्षिणतर्फ खर्सुको वन जस्ताको तस्तै छ । धन्सार उक्लिने आँगनमा भएका सिँढीहरू, जहाँ आमाले गाईभैँसीका लागि घाँस काटेर आएपछिको एकछिन थकाइ मार्दै त्यही बसेर चिया पिउनुहुन्थ्यो । बाल्यकालका सखीहरू इन्दु दिदी, जया दिदी, बिन्तु दिदी, शान्तु, बेलु र युक्तिलाई सम्झेँ । थाप्लेघर काकाकाकीलाई भेट्दा पुरानो निबुवाबोटको झल्को फेरि एक पटक दिलभरि भरियो ।
उहिल्यैदेखि यहाँका जनसमुदायको कृषि नै जीविकोपार्जनको मुख्य स्रोत भए पनि अहिले सरकारी सेवा तथा बैङ्किङ क्षेत्रमा काम गर्ने तथा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दो छ । भेटघाट पातलिएको छ । बस्ती घटेका छन् । गोरेटाहरू डोजरको सहायताले फराकिला भई पिच भएका छन् । वरपर उही हरिलो भरिलो देखियो, मन उत्सुक बनिरह्यो ।
यात्राको गन्तव्य लामसेरा नजिकिँदै थियो । बाटोमा पर्ने गुडुलीको स्वाँरोको चौर जहाँ गाईगोरु चर्थे, सबै जङ्गलमा परिणत भएछ । हामीले पढेको स्कुलको स्वरूप अब ठुलो र सुव्यवस्थित भएछ, अति खुसी लाग्यो । लामसेरा त पूरै परिवर्तन, पोखरी सुकिसकेछ । हामी गट्टा खेल्ने चौतारी हेरेँ र टोलाएँ । कहिल्यै नफर्किने ती सुनौला क्षण सम्झिएँ ।
लामसेराको छेवैमा रहेको त्यो शमीको रुख जहाँको त्यहीँ उभिएको थियो र कसैलाई पर्खिरहे जस्तो, मलाई त्यो रुखलाई एक पटक अँगालो हाल्न मन लाग्यो । फेदमा गएर हल्का स्पर्श गरेँ, हाँगा अनि यसका पात निहालिरहेँ ।
आँखा चञ्चल भइरहे । बाल स्मृतिपटलमा घोत्लिँदा गजधम्म परेर बसेको शमीको रुख यस्तो लाग्छ कि सेल सिल्भर्रस्टाइनको किताब दी गिभिङ ट्री हो, जुन रुखले सधैँ दिई नै रहन्छ । सञ्जीव उप्रेतीको हंस किताबको टौदहको बुढो बकुल्लो सम्झिएँ, जो टौदह वरिपरिका सबै परिवर्तनका साक्षी तथा ज्ञानी हुन्छन् । पर्ल एस बकको किताब गुड अर्थका वाङ्लुङ सम्झिएँ, उनी आफ्नो अन्तिमसम्म पनि आफ्नो माटोसँग जोडिएर बाँच्न चाहन्छन् । बहराइनको दी ट्री अफ लाइफलाई सम्झेँ, जुन उजाड मरुभूमिको बिचमा चार सय वर्षअघिदेखि झाँगिएर रहेको एक मात्र रुख हो । त्यस्तै बाल र वृद्ध, विकासनिर्माण, सङ्घर्ष र परिवर्तन, पहिचान र पर्यटन सबै देखेको छ, त्यो शमीको रुखले ।
हाम्रा गाउँसमाजका धेरै घटनाको साक्षी त्यो शमीको रुख अटल र अडिगताका साथ लामसेरालाई निरन्तर आड दिइरहेको छ । तीन दशकअगाडि हाम्रा साइन्स पढाउने सरले रुख प्राणी हो भनेर पढाउनुभएको सम्झेँ । रुखमा जीवन छ । मलाई यस्तो अनुभव भएको थियो कि मैले कोही मेरो अत्यन्त नजिकका आफन्तलाई भेटिकी छु ।
डाँडाथरका ८४ वर्षीय चिन्तामणि हजुरबुवा भेटिनुभयो । दिउँसो यहीँ आएर बस्छु, शीतल हावा लाग्छ र यहाँबाट सबैतिर देखिन्छ, यो दृश्यले मन भरिन्न भन्नुभयो । फेरि आऊ है भन्नुभयो, मन भरियो । मेरा बाल्यकालका साथीहरू मुना, शोभा, दुर्गा, लक्ष्मी, शान्तिलाई सम्झिएँ । लगभग तीन दशक पहिल्यैदेखि आआफ्नो परिवेशमा भुल्यौँ । अहिले उनीहरूलाई सम्झिँदा एक्लै महसुस गरेँ । अहिले सबै कहाँ होलान् बालसखा, दिदीबहिनी सम्झिन्छु, सबै विवाह गरेर चारै दिशातर्फ छरिएर गए । म पनि त कहाँ त्यहाँ छु र ? के हाम्रो भेट कहिल्यै फेरि त्यसरी होला कि । त्यो क्षण ती साथीलाई भेट्न पाएको भए कस्तो हुन्थ्यो होला, यो मनमस्तिष्कमा सम्झना हुरहुरी हावा सरी एकै पटक ओइरिएर आए । घरी अधिक खुसी त घरी भावुक बनाए । प्रविधिले केही सम्बन्ध बनाए पनि त्यो भावनात्मक सम्बन्ध कहाँ पाउनु ।
फेरि सम्झिएँ पातका टुप्पा चुँडेर बाजा बजाउँदै हिँडेको, गर्मीका समयमा बिम्राबोटका प्रेम सर र रजस्थलका मित्रलाल सरले त्यसको शीतल छहारी पर्ने चौरमा बसालेर पढाउनुभएको । त्यसको वरपर नुनखुर्सानीसँग अमिलो खाएको, बर्फी मिठाई, पुष्टकारी खाएको, हाफ छुट्टीमा छोइडुम खेलेको, रुमाल लुकाई खेलेको, ग्यार्ली, खुट्टे खेलेको सम्झनाका छाल भेल सरी उर्लिएर आए ।
तिज नजिकिँदाका दिनमा लामीस्वाँरामा शमी वरिपरिका चौतारीमा बसेर निबुवाबोटका दिदीबहिनीले गीत गाउँथे । तिजका दिन लामसेरामा मेला लाग्ने गर्छ । दिदीबहिनी, आमा, भाउजू जम्मा भएर गीत गाउने, नाच्ने मौलिक चलन चलेकै छ । लाखे नचाउने चलन अहिले पनि छ । चाडपर्वका बेला गाउँ झन् रमाइलो बालापनमै रमाऊँ झैँ लाग्यो ।
प्रकृतिको अनुपम सिर्जनास्वरूप शमीको रुख भएको चौतारीबाट देखिने दृश्य अत्यन्त मनमोहक छ । माथितिर आँधीखोलाको तीरमा सुन्दर लहरै परेका घर भएको सेती दोभान बजार । तलतिर ठुलीबेँसीको फाँट अनि ठुलीबँेसी पूर्व स्याङ्जा बजार पर्छ । पश्चिमतर्फ रङ्गेठाँटी हुँदै पर्वत जिल्ला पर्छ । लामीस्वाँराबाट उत्तरतर्फ माछापुच्छ«े हिमाल छर्लङ्ङ देखिन्छ । अन्नपूर्ण बेस क्याम्प ट्रेकमा जाँदा छ/सात दिन नै लाग्ला तर कति नजिकै देखिएको । आहा त्यो ६,९९३ मिटर अग्लो माछापुच्छ«े सम्झेँ, फेवातालमा पौडी खेल्दै होला । यहाँको शान्त वातावरणले आत्मालाई नै शान्ति दिन्छ । नेपालको पहिलो होमस्टे गाउँ सिरुबारी निबुवाबोटभन्दा अलि माथि पर्छ । २०४६ सालमा हाम्रो गाउँमा कालो झन्डा पहिलो पटक त्यही रुखमा टाँगेको देखेकी थिएँ । प्रश्न थिए, डर पनि लाग्थ्यो । बुढापाकाले अब के के हुने हो भन्दै जिब्रो काढ्थे । प्रजातन्त्र प्राप्तिपछि राता झन्डा फहराए त्यही रुखमा ।
यो शमीको रुख एउटा मूल बाटोमा पर्छ, जसले रङ्गेठाँटी, थाराफाँट र निबुवाबोट जोड्ने स्थान चिनाउँछ । मेला भेला, बहस र कला चिनाउँछ । विद्यार्थी र बटुवालाई थकाइ मार्ने चौतारी र शीतलताको छहारी दिएर शमीले लगाउनु गुन लगाएको छ ।
हिजोआज आवश्यकता, आकाङ्क्षा र निर्माणप्रधान विकासले गाउँलाई छोइसकेको छ । जथाभाबी प्रकृति दोहनमा अलिक विचार गर्नुपर्ने आवाज भने बुलन्द नै रहेछ । सडक, विद्युत्, इन्टरनेट सुविधा पनि विस्तार हुँदै गएको छ । सहरमा जस्तो कोलाहल यहाँ छैन, गाउँले अझै आफ्नो मौलिकता जोगाइरहेको छ । बस्ती घटेका छन् । सङ्गी घटेका छन् । गाउँको स्वभाव गतिमान छ तर रित्तो छैन सोचिए जस्तो । मेरो कौतूहल पनि बालापनमै भुल्यो । म यस धर्तीको जुन देशको कुनामा भए पनि मेरो जन्मगाउँ मेरो पहिचान हो । यहाँ बिताएका बाल्यकालका सम्झना मेरो मनमा सदैव ताजा रहने छन् ।
अहिले जहाँ छु, त्यहाँबाट केही टाढा होला गाउँ तर मनभित्र तरङ्गित छ । जति नै टाढा भए पनि गाउँको माया कहिल्यै मेटिँदैन । जन्मभूमिको आँचलमा लुकिरहन मन थियो तर जीवनका व्यस्तताले डोर्याएपछि आँखाभरि आफ्नो गाउँका सुन्दर दृश्य र मनभरि माया सँगालेर फेरि भेट्ने अभिलाषासहित कर्मथलो फर्किएँ ।