भवानीदत्त भट्ट
कञ्चनपुर, भदौ १६ गते । कञ्चनपुरको बेलौरीका ४६ घरपरिवार बाढीका कारण आफ्नो थातथलो छाडेर जङ्गलमा बस्न थालेको २० वर्ष भइसकेको छ तर उनीहरू अझै आफ्नो थातथलो फर्केका छैनन् । वडा नम्बर ८, कानपुरका बुद्धिराम चौधरीलगायतका ११ घरपरिवार विगत दुई दशकदेखि अजयपाल सामुदायिक वनमा अस्थायी टहरा बनाएर बस्दै आएका छन् ।
कानपुरका बुद्धिराम चौधरीको आफ्नो डेढ बिघा जमिन छन् तर बाढीका कारण देखाउँदै अझै पनि जङ्गलमै बस्दै आएका छन् । उहाँले भन्नुभयो, “२० वर्ष पहिले सुतिया नदीमा पानीको बहाब बढ्न सुरु भयो, आधा घर डुबानमा परेपछि गाउँ छाडेर जङ्गलमा बस्न थाल्यौँ त्यसपछि फर्केको छैन ।” उहाँले अझै त्यहाँ बाढीको समस्या छ, पानी पर्न थालेपछि बस्ने अवस्था नरहेको दाबी गर्नुभयो ।
बुद्धिरामको घरमा १४ जना छन् । वर्षायाम सुरु भएपछि सबै जना जङ्गलमै आएर बस्ने गरेको बताउँदै उहाँले अरू समयमा श्रीमतीसहित आफू मात्र यहाँ जङ्गलमा बस्ने गरेको र अरू छोराबुहारी उतै घरमै बस्ने गरेको बताउनुहुन्छ । बेलौरी नगरपालिका–८, कलकत्ताका छेदुराम चौधरी पनि विगत दुई दशकयता वनमा अस्थायी टहरा बनाएर बस्दै आउनुभएको छ । २०६५ सालमा आएको बाढीले घरसहित पाँच कट्ठा जमिन डुबानमा परेको उहाँले दुखेसो पोख्नुभयो । अरुबेला छोराबुहारी कलकत्तास्थित घरमा बस्छन्, बाढी आएपछि उनीहरू पनि यतै आएर बस्ने गरेको उहाँले बताउनुभयो । छेदुरामसहित सुतिया नदी क्षेउमा घर भएका कलकत्ताका पाँच परिवार बाढीका कारण जङ्गलमा बस्छन् । त्यस्तै भजौरा रानाको पनि कलकत्तामा डेढ बिघा बढी जमिन छ, कलकत्तामा खेतीपाती गर्दै आउनुभएका उहाँ बाढीका कारण देखाउँदै जङ्गलमा बस्दै आउनुभएको छ ।
बाढीको डरले जङ्गल पसे पनि उहाँहरू अहिले फर्किन मान्नुभएको छैन । अहिले बेलौरीभन्दा जङ्गलमा बस्न समस्या छ । सर्प तथा जङ्गली जनावरका कारण उहाँहरू रातभर सुत्नुहुन्न । छेदुराम भन्नुहुन्छ, “जङ्गल छेउमा न त बिजुली छ, न त कुनै सुविधा नै, जङ्गली जनावरको डरले हामीहरू रातभर सुत्दैनौँ ।” गत महिना सात÷आठ वटा विषालु सर्प झोपडीबाट मारेको बताउँदै उहाँले जङ्गली जनावर चितुवा, हात्तीका कारण त्रासपूर्ण जीवनयापन गरिरहेको बताउनुभयो । यतिका समस्या हुँदा पनि पालिकाले कुनै वास्ता नगरेको विपतराम डगौराले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “कसलाई आफ्नो थातथलो छाडेर बाहिर जङ्गलमा बस्न मन हुन्छ, तर बाध्यता छ, अहिले पनि पानी पर्न थाल्यो भने घरमा कोही बस्दैनन् सबै जङ्गल पस्छन्, बाढी नभएका बेला खेतबारी घर हेर्नका लागि पनि बस्नु पर्छ ।” तर बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी भन्नुहुन्छ, “अहिले बाढीको समस्या छैन, दुई दशकअघिसम्म समस्या थियो, अहिले त्यस्तो छैन तैपनि उहाँहरू जङ्गलबाट फर्किन मान्नुभएको छैन ।” जङ्गलमा बसेका जति सबै प्रशस्त जग्गाजमिन भएका व्यक्ति रहेको बताउँदै उहाँले दुई दशक पहिलेको समस्या नभए पनि जग्गाजमिनको लोभले जङ्गल नछाडेको बताउनुभयो । उहाँले भन्नुभयो, “२० वर्ष पहिलाको समय र अहिलेको समयमा पक्कै पनि परिवर्तन भएको होला नि, अहिले पहिलाको जस्तो डुबान छैन तैपनि फर्किन मान्नुभएको छैन ।”
उहाँरूलाई पटक पटक जङ्गलमा नबस्न आग्रह गरिएको तर त्यो ठाउँ छाड्न नमानेको उपप्रमुख चौधरीले बताउनुभयो । वन क्षेत्र खाली गराउन सम्बन्धित निकायसँग छलफल भइरहेको उहाँले बताउनुभयो । केही वर्ष पहिले बेलौरीका नगरप्रमुख पोतीलाल चौधरीले हात्ती धपाउन वनमा बिजुली दिए पनि अहिले निकुञ्जको कार्यालयले बिजुली नै काटेको गुनासो बुद्धिरामको छ । कमरीका ६२ वर्षीय कल्लो राना श्रीमान्सहित जङ्गल किनारमा शिविरमा बस्दै आउनुभएको छ । कमरीका १४ परिवार जङ्गलमा बस्दै आएका छन् । शिवशङ्कर पथरियाघाट शिविरका अध्यक्ष भजौरा रानाले बर्सातको समयमा घरमा झन्डै डेढ फिट पानी जम्ने गरेका कारण आफूहरू यहाँ बस्दै आएको बताउनुभयो । सरकारले आफूहरूको उचित व्यवस्थापन गर्नुपर्ने उहाँको माग छ ।