• १६ भदौ २०८२, सोमबार

बागलुङमा ठुलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा

blog

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले ठुलो आवाज निकालेको भन्दै नियन्त्रणमा लिएका मोटरसाइकलहरु । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की
काठेखोला (बागलुङ), भदौ १६ गते ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले ठुलो आवाज निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही गरेको छ ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक मिन बहादुर कुँवरका अनुसार मोडिफाई गरेर ठुलो आवाज आउने साइलेन्सर राखिएका, सिट परिवर्तन गरिएको १४ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएका मोटरसाइकललाई पहिलो पटक जरिवाना गरेर आइतबार छोडिएको प्रमुख कुँवरले बताउनुभयो ।

“नियन्त्रणमा लिएका मोटरसाइकललाई पहिलो पटक साइलेन्सर फेरेर पुरानै राख्न लगाइयो र जरिवाना गरेका छौं,” उहाँले भन्नुभयो, “तर, यस्ता गतिविधि दोहोरिएमा कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।”

प्रमुख कुँवरले ठुलो आवाज निकाल्ने मोटरसाइकलका कारण दुर्घटना बढ्नुका साथै अनावश्यक रुपमा सर्वसाधारणलाई आतङ्कित तुल्याउने हुँदा पक्राउ गरेर कारवाही गरिएको जानकारी दिनुभयो । ठुलो आवाज निकाल्ने सवारी साधनले ध्वनी प्रदूषणसमेत गर्ने गरेको उहाँको भनाइ छ ।

ट्राफिक प्रहरीले साइलेन्सर परिवर्तन गरी ध्वनी प्रदूषण गर्ने गरी मोटरसाइकल चलाउँदा समाजमा नकरात्मक प्रभाव पर्ने भएकाले कारवाही गरिएको जनाएको छ ।

ठूलो आवाज निकालेर सवारीसाधन चलाउँदा ध्वनि प्रदूषण हुनाका साथै मानवीय स्वास्थ्यमा पनि नकारात्मक असर पर्ने भएकाले त्यस्ता सवारीसाधन नचलाउन ट्राफिक प्रहरीले चालकलाई अनुरोधसमेत गरेको छ ।