प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), भदौ १६ गते । रौतहटको गढिमाइ नगरपालिकाले हरियाली प्रवर्धनका लागि नगर क्षेत्रमा वृक्ष रोपण कार्यको शुभारम्भ गरेको छ । आइतबार अभियानको थालनी गर्नु हुँदै गढिमाइ नगरपालिका नगर प्रमुख श्यामप्रसाद यादवले हरियाली प्रवर्धनसँगै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नगर भरिमा ४६ हजार बिरुवा रोपण गर्न लागिएको बताउनुभयो ।
बिरुवा रोपण गरेर हरियाली तथा जैविक विविधता जोगाउने प्रयास थालिएको प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवको भनाइ छ । चराचुरुङ्गी तथा अन्य जीव जनावरलाई खाना र बास उपलब्ध गराउने कार्यमा समेत यसले मद्दत पुग्ने उहाँले बताउनुभयो । बढ्तो तापमानलाई कम गर्नका लागि पनि वृक्षरोपण आवश्यक रहेको प्रमुख प्रशासकिय अधिकृत यादवले बताउनुभयो ।
गरुडा –समनपुर सडक खण्डअन्तर्गत बागमती पूल समनपुरदेखि गरुडा–४ प्रवेशद्वारसम्म रहेको गढिमाइ नगरपालिकाको सिमा तथा गढिमाइ मन्दिरको चारै तिर जाने बाटोमा बोटविरुवा रोपण पछि शितलता प्रदान हुने भएकोले सडकको दुवै तर्फ बिरुवा रोपण गर्न लागिएको उहाँले बताउनुभयो । १२ किलोमिटर सडकको दुवै तर्फ गरेर एक हजार बिरुवा रोपण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । यसका अतिरिक्त नगरपालिकाका ९ वटै वडामा ५ हजार बिरुवाका दरले गरी ४५ हजार बिरुवा रोपण गर्न लागिएको राजस्व शाखा प्रमुख बालकिशोर रायले जानकारी दिनुभयो ।
कालिका फूल, गोल्ड मोहर फूल, बिरेन्द्र फूल, आँप, अमला, इमलि, बकाइनो लगायतका प्रजातिका विरुवा रोपण गर्न लागिएको उहाँले बताउनुभयो ।
विरुवा रोपण मात्र ठूलो कुरा होइन त्यसको संरक्षण सबैभन्दा महत्त्वपूर्ण कुरा रहेकोले रोपण हुने बिरुवा संरक्षणका लागि समेत नगरपालिकाले सक्रियता देखाउनु पर्ने गढिमाइ नगरपालिका –६ का वडा अध्यक्ष राम सिंहासन यादवले बताउनुभयो ।