टोपलाल अर्याल
रेसुङ्गा साउन १६ गते। बारीभरि कोदो रोपाहार, मेलोको काम गर्ने व्यक्ति र खेती लगाउँदा गाउँने गीतमा रमाइरहेका छन्। कृषि ज्ञान केन्द्र गुल्मी र इस्मा गाउँपालिका–३ वडा कार्यालयको समन्वयमा कोदो महोत्सव सम्पन्न गरिएको छ। लोप हुँदै गएको गीतको संरक्षणसहित कोदो खेतीको प्रर्वद्धन गर्न कोदो महोत्सवको आयोजना गरिएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ।
इस्मा गाउँपालिका–३ दर्लामचौरका ७१ वर्षीय तेज बहादुर विक उमेर दिनभर गीत गाउँनुहुन्थ्यो। त्यो गीतलाई स्थानीय हुद्ध भन्थे। गाउँदै र नाच्दै रोप्दा मेलो सकिएको पत्तै हुन्थेन।
इस्मा गाउँपालिका–३ का ओम बहादुर पछाइँको बारीमा दुर्गा बहादुर विष्टले कोदो रोप्नु भएको थियो। उहाँको बारीमा कृषि ज्ञानकेन्द्र र वडा कार्यालयले महोत्सव जोडेर सहजीकरण गरेको इस्मा गाउँपालिका–३ का वडाध्यक्ष ज्योतिराज कुवंरले बताउनुभयो।
गरिबको खान्कीका रुपमा हेरिने कोदोको उत्पादकत्व र क्षेत्रफल घट्दै गएको छ। कोदो सहरमा खोज्ने बढ्ने तर गाउँमा रोप्ने घट्दै गएकाले ऊर्जाका लागि कोदो महोत्सव राखिएको वडाध्यक्ष कुवँरले बताउनुभयो।
कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार पछिल्ला वर्षहरुमा कोदो उत्पादन क्षेत्रफल र उत्पादकत्व दुवै घट्दै गएको छ।