पूर्वै दिशाको सिमे भुमे
वराह देवता तिम्रै शरण
पश्चिमै दिशाको सिमे भुमे
वराह...
तान्त्रिकको वेशभूषामा खुला मैदानमा उत्रिएर एक जनाले १० भूमि अर्चना गरिरहेका थिए । आफ्नो जिउ बाँधेर, १० भूमि बाँध्ने र देवीदेवता पुज्ने त्यो अगुवाको पछि पछि थिए– सयौँ कलाकार । ‘सय थरी गोडा एउटै चाल’ भने जस्तै भूमि अर्चनामा एक हजार तीन सय विद्यार्थी गोडाको चाल मिलाइरहेका थिए । यो दृश्य थियो–२०८१ माघ २७ गतेको । ताप्लेजुङ मैवाखोला गाउँपालिकाको साँघु खेल मैदानमा एउटा बृहत् नृत्य चल्दै थियो अर्थात् मास कोरियोग्राफी । राष्ट्रपति रनिङ सिल्डको उद्घाटनका बेला ताप्लेजुङ जिल्लाका २७ वटा विद्यालयका एक हजार तीन सय विद्यार्थीलाई एकै पटक मैदानमा उतारिएको थियो । जहाँ एक हजार तीन सय विद्यार्थीले आआफ्नो ‘परफर्मेन्स’ मा रहेर ‘सिलाम साक्मा’ को चलायमान आकृति बनाइरहेका थिए । जहाँ संस्कृति, सम्पदा र सङ्गीतको संयोजनसहित नेपालकै प्रतिनिधित्व गर्ने १४ वटा सांस्कृतिक प्रस्तुति गरिएका थिए र त्यसको नेतृत्वमा–छेडुप लामा ।
लिम्बू जातिको मुन्धुममा ‘सिलाम साक्मा’ को विशेष महत्व छ । जसमा नौ रेखाको महत्वपूर्ण स्थान छ । जसलाई तीन रङ सेतो, रातो र निलोले प्रतिनिधित्व गर्छ । सिलाम साक्मा अर्थात् मृत्युको बाटो छेक्ने भन्ने अर्थ लाग्छ । नौ ग्रहका खराब ऊर्जा छेक्ने कार्य । चासोक तोङ्नाम (उँभौली पर्व) या कक्फेक्वा तोङ्नाम (उँधौली) मा सिलाम साक्मा छातीमा लगाएर नाच्न जाने सांस्कृतिक परम्परा नै छ ।
पूर्वी नेपालमा सिलाम साक्माको विशेष महत्व पनि छ । त्यही महत्वलाई उजागर गर्न छेडुपले तीन महिनासम्म सोही स्थानमा घुमेर सिलाम साक्माको अध्ययन गर्नुभयो । त्यस क्रममा फेदाङ्मा, फेदाङ्वासँग भेटघाट गर्नुभयो । फेदाङ्मा, फेदाङ्वाकै मार्गनिर्देशन अनुसार तयार पारिएको थियो– सिलाम साक्मा । एक हजार तीन सय विद्यार्थीलाई मैदानमा उतारेर सिलाम साक्माको आकृति बनाउनु त्यति सजिलो काम हुँदै होइन । त्यससँगै बाँसको प्रयोग गरी ५४ फिट लम्बाइ चौडाइको विशाल सिलाम साक्माको आकृति बनाउनु चुनौती नै थियो, जुन काम छेडुपको तीन महिनाको प्रयत्नपछि सम्भव बनेको थियो । सो आकृति बनाउन २६६ वटा बाँस प्रयोग गरिएको थियो ।
सिलाम साक्माको मास कोरियोग्राफीका निर्देशक छेडुप लामाका अनुसार २७ वटा विद्यालयमा पुगेर विद्यार्थीलाई तालिम दिएर एकै पटक मैदानमा उतारिएको थियो । त्यसअघि एक दिन पूर्वतयारी अभ्यास मैदानमा गरिएको थियो । यति धेरै विद्यार्थीलाई मैदानमा नचाउन कसरी सम्भव बन्यो ? निर्देशक छेडुप भन्नुहुन्छ, “हो, सजिलो छैन तर सम्भव छ किनकि नृत्य गणित विज्ञान हो, नृत्य शारीरिक विज्ञान हो, नृत्य सामाजिक विज्ञान पनि हो, नृत्य मानसिक स्वास्थ्य पनि हो र नृत्य विश्व भाषा पनि हो ।”
खासमा मास कोरियोग्राफी प्रतिस्थापन कला पनि हो । जहाँ दर्शकको पनि उत्तिकै सहभागिताको अर्थ हुन्छ । विद्यार्थी, अभिभावक र शिक्षकको विशाल संयोजन नै मास कोरियोग्राफीका रूपमा छेडुपले अघि बढाइरहनुभएको छ ।
यो किन ? निर्देशक छेडुप भन्नुहुन्छ, “सार्वजनिक विद्यालयको खस्कँदो शैक्षिक गुणस्तरलाई कसरी सुधार गर्न सकिन्छ ? त्यो पनि नृत्यको माध्यमबाट उत्प्रेरणा र जागरण ल्याएर । यो त्यति सजिलो विषय चाहिँ होइन तर प्रयत्न जारी छ ।”
अभिभावकमा शैक्षिक जागरण ल्याउने प्रयास अनुरूप देशका विभिन्न ठाउँमा विद्यार्थी, शिक्षक र अभिभावकको संयोजनमा मास कोरियोग्राफीको काम भइरहेको छ । जहाँ स्थानीय कला, संस्कृति, सङ्गीतको जबरजस्त प्रभाव हुन्छ । यसकै माध्यमबाट शैक्षिक जागरणको प्रयास नै मास कोरियोग्राफीको उद्देश्य रहेको निर्देशक छेडुप बताउनुहुन्छ । बृहत् राष्ट्रिय शिक्षा अभियानको क्रियटिभ डिरेक्टरका रूपमा छेडुपले देशव्यापी अभियानलाई हाँकिरहनुभएको छ । कोशी प्रदेशमा सिलाम साक्माको यो प्रदर्शनपछि लिम्बू बाजेले लिम्बू लबजमा गाउँघरतिरका चिया दुकानमा भन्नुभएछ–
हन एउटा तामाङ केटो आयो
सिलाम साक्मा खोज्यो
सिलाम साक्मा बनायो
एउटा बाहुन केटो आयो
सिलाम साक्माको व्याख्या गर्यो
हन तिमी लिम्बूहरूले पो के गर्यो हौ
हाहा...
दोलखाका छेडुपले २०६९ सालमा नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पहिलो पटक ‘रातो र चन्द्र सूर्य’ गीतमा मास कोरियोग्राफी गर्नुभएको थियो । त्यसपछि नै मास कोरियोग्राफीलाई देशव्यापी लैजाने हुटहुटी उहाँमा चलेको हो । शिक्षालाई संस्कार र संस्कृतिसँग कसरी जोड्ने ? अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धलाई कसरी बलियो र विश्वासिलो बनाउने ? भन्ने प्रश्नको उत्तर खोज्ने क्रममै नृत्य, कला, शिक्षालाई जोड्ने विचार उहाँमा आएको हो । निर्देशक छेडुपले सर्लाही जिल्लाको बागमती नगरपालिकामा २०८० फागुनमा तीन हजार ६८४ विद्यार्थीको सहभागितामा बृहत् नृत्य निर्देशन गर्नुभएको थियो । त्यो पनि २:३० घण्टाको समय निरन्तर मैदानमा दर्शकको ध्यान खिच्नु सजिलो काम होइन । निर्देशक छेडुप भन्नुहुन्छ, “यो संस्कृतिको पुस्ता हस्तान्तरण पनि हो । स्थानीय कला र संस्कृति जोडिएकाले सहभागीको ध्यान तान्न सकिन्छ ।”
शास्त्रीय नृत्य ज्ञान, तान्त्रिक साधनाले छेडुपलाई हरेक काममा लाग्न ऊर्जा प्राप्त हुन्छ । डेढ दशकदेखि शास्त्रीय नृत्यमा रमाइरहनुभएका लामाले गुरु राजेन्द्र श्रेष्ठबाट चर्या नृत्य सिक्नुभएको हो । नृत्यबाट अनेकन तरङ्ग उत्पन्न हुन्छन् । जसलाई हामी नृत्य तरङ्ग क्रिया पनि भन्न सक्छौँ । उहाँका अनुसार नृत्य तरङ्ग क्रिया भनेको विभिन्न चाललाई तालद्वारा नियन्त्रित गरी ताललाई एकै ठाउँमा समाहित गर्दै गरिने नृत्य हो । जब नृत्य गर्न मानिस मञ्चमा उभिन्छ ऊ त्यतिबेलासम्म होसमा हुन्छ तर जब ताल बज्न सुरु हन्छ तब मानिस होस र बेहोसीबिचमा अड्किएको हुन्छ । नृत्य तरङ्ग क्रिया भनेर उहाँले आफैँ पनि केही कुरा सिर्जना गर्नुभएको छ ।
तन, मन, वचन अथवा काया शुद्धीकरण, वाक् शुद्धीकरण र चित्त शुद्धीकरणमार्फत समाजलाई अघि बढाउन सकिने धारणा उहाँको छ । काया शुद्धीकरण भनेको शरीर शुद्ध बनाउनका लागि नृत्य तरङ्ग गृह, वाक् शुद्धीकरण भनेको गला शुद्ध गराउनका लागि नृत्य तरङ्ग गृह जुन गायकमार्फत गराउन सकिन्छ । चित्त शुद्ध गराउन भावको आवश्यकता पर्छ । मनभित्र उब्जिने राम्रा राम्रा कुरालाई दिमागमा राख्ने । नकारात्मक सोच नल्याउने गरेर त्यसका लागि नृत्य तरङ्ग क्रियामार्फत यो जगाउन सकिने धारणा उहाँको छ ।
उहाँले विशेष गरेर विद्यालयमा प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र अभिभावकलाई यस्ता कक्षासमेत लिइरहनुभएको छ । उहाँले विद्यालयमा बुद्धको ध्यान पनि सिकाउनुहुन्छ । ध्यान सिकाउनुका कारण चाहिँ शून्यतासँग अलि बढी नजिक लैजानु हो । विद्यालय शिक्षक, विद्यार्थीमा एकाग्रता ल्याउन नृत्य सबैभन्दा उत्तम विधि भएको अनुभव उहाँको छ ।
निर्देशक छेडुपको अर्को एउटा मास कोरियोग्राफी तयारी छ । यो अति महत्वाकाङ्क्षी पनि देखिन्छ तर यसलाई सम्भव बनाउन धेरै तयारी अघि बढिसकेको छेडुप बताउनुहुन्छ । त्यो तयारी हो– ह्याङ्ला डम्फु, ह्याङ्ला तम् अर्थात् हाम्रो डम्फु हाम्रो इतिहास । त्यसका लागि पाँच हजार ‘अम्बु सिङ’ को डम्फु बनाउने काम भइरहेको छ तर डम्फुसम्बन्धी मास कोरियोग्राफीमा तीन हजार दुई सय डम्फु र त्यति नै विद्यार्थीले सहभागिता जनाउने छन् । तीन हजार दुई सय डम्फु बजाउँदै त्यति नै विद्यार्थी र ज्येष्ठ नागरिकले दशरथ रङ्गशालामा विशाल डम्फुको प्रतिस्थापन कला बनाउने तयारी रहेको निर्देशक छेडुप बताउनुहुन्छ ।
डम्फु बनाउन बत्तीस सय नै किन ? उहाँको तर्क छ– अम्बु सिङ (कोइरालोको काठ) को डम्फुमा बाँसका ३२ किला हुन्छ । नेपाली समाजमा ३२ लक्षणको विशेष महत्व छ ।
लोकबाजा डम्फुलाई केन्द्रमा राखेर शैक्षिक जागरणकै एक अध्यायका रूपमा मास कोरियोग्राफी तयारी भइरहेको छ । केही महिनापछि काठमाडौँ सहरले सुन्ने गरी एक पटक घन्किने छ–
च्याङ्बा है च्याङ्बा
सुन सुन है च्याङ्बा
डम्फुले आज के भन्छ
ताक धुम धुम ताक धुम धुम