• २१ माघ २०८२, बुधबार

तारा खोलामा मगर भाषाको पढाइ हुने

blog

ताराखोला गाउँपालिकाको आफ्नै प्रशासकीय भवन ।तस्बिर : नवराज नेपाली

नवराज नेपाली

बागलुङ (गलकोट) माघ २१ गते । बागलुङको तारा खोला गाउँपालिकामा आगामी शैक्षिक सत्रदेखि केही सामुदायिक विद्यालयहरूमा मगर भाषामा पढाइ सुरु गरिने भएको छ ।

तारा खोला गाउँपालिकाले मगर भाषाको अध्यापन सम्बन्धी सम्भाव्यता अध्ययनपछि आगामी शैक्षिक सत्र २०८३ देखि नै मगर भाषाको पढाइ सुरु गर्ने तयारी गरेको ताराखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख युवराज शर्माले जानकारी दिनुभयो ।

मगर भाषाको पढाइका लागि ताराखोला गाउँपालिका भित्र बसोवास गर्ने मगर समुदायको भाषाको प्रकार छनोट सम्बन्धमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा राष्ट्रिय आदिवासी जनजाति संयुक्त मोर्चा नेपालका संयोजक सुरेश आले मगरले नेपालको मगर भाषा सम्बन्धी विगत, वर्तमान र भविष्यसँग सम्बन्धित कुराहरूको बारेमा जानकारी गराउनुभयो। 

उहाँले स्थानीय सरकारले मगर भाषा संरक्षणका लागि विद्यालय स्तरमै अध्यापन गर्ने गरी मगर भाषाको पढाइ सुरु गर्नु प्रशंसनीय रहेको बताउनुभयो।

सो अवसरमा गण्डकी प्रदेशका पूर्वमन्त्री चन्द्रबहादुर बुढा मगर (सागर) ले गाउँपालिकाले सबैसँगको छलफलबाट यस क्षेत्रकालाई उपयुक्त भाषाको प्रकार तथा लिपि छनोट गरी अगाडि बढ्न सुझाव दिनुभयो ।

तारा खोला गाउँपालिकाले सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ४ का वडा अध्यक्ष जितबहादुर खत्रीको संयोजकत्वमा मगर भाषा अध्ययनका लागि सम्भाव्यता अध्ययन समिति गठन गरी विभिन्न विद्यालयमा पुगेर अभिभावक, शिक्षक र सरोकारवालासँग विभिन्न चरणमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने जनाइएको छ ।

मगर भाषाको प्रकारमध्ये भौगोलिक क्षेत्र र यहाँका मगर समुदायका लागि अनुसार भाषाको प्रकार मध्ये ढुट उपयुक्त हुने राय व्यक्त गरेका थिए। मगर भाषाको पढाइ सम्बन्धी सम्पूर्ण कानुनी प्रक्रिया तथा कार्यपालिकाको बैठकको समेत निर्णय भइसकेकाले अब शिक्षकलाई तालिम तथा पुस्तक छपाई तर्फ लागिने गाउँपालिकाका अध्यक्ष धन बहादुर विकले बताउनुभयो  ।

पहिलो चरणमा वडा नम्बर ५ को दुर्गा भवानी माध्यमिक विद्यालय र वडा नम्बर २ को अर्गल माध्यमिक विद्यालयमा कक्षा एकबाट ऐच्छिक रूपमा मगर भाषाको पढाइ सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले बताउनुभयो ।