ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ २१ गते । म्याग्दीको सदरमुकाम बेनीबाट भारतको राजधानी नयाँ दिल्लीसम्म पहिलोपटक सिधा बस सेवा सञ्चालनमा आएको छ । बुधबारदेखि सुरु भएको यस सेवाले म्याग्दी र मुस्ताङका धार्मिक तथा पर्यटकीय स्थलसम्म आउने भारतीय पर्यटकलाई सहज बनाउने अपेक्षा गरिएको छ भने भारत जाने कामदार, विद्यार्थी र उपचारका लागि जाने नागरिकलाई पनि प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ ।
बुधबार बिहान बेनीस्थित कालीपुल बसपार्कमा बसका पहिलो यात्रु सुमन सेञ्चुरीलाई स्वागत गरेर बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनी–दिल्ली बस सेवाको सुभारम्भ गर्नुभयो ।
पोखराको मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रा.लि,ले आलोपालो गरी दैनिक रूपमा ७ः३० बजेदेखि बेनी देखि बस छुटाउने व्यवस्था गरिएको मोडर्न इरा टुर्स एन्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले बताउनुभयो । यसअघि पोखरादेखि सञ्चालन रहेको सेवालाई विस्तार गरेर धौलागिरि क्षेत्रका यात्रुहरूलाई सुविधा दिने प्रयास गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार बेनी कालीपुल बसपार्कबाट, बागलुङ, कुस्मा, पोखरा, स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या, आग्रा हुँदै २७ घण्टामा दिल्ली पुग्ने छ । बेनीदेखि दिल्ली बस सेवा सञ्चालन गर्न निकै चुनौति भए पनि साहस गरेर बस सेवा सञ्चालनमा ल्याएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
बेनीदेखि दिल्ली सिधा बस सेवाले साविक धौलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङको धार्मिक पर्यटन प्रवर्धनमा टेवा पुग्ने आशा गरिएको बेनी नगरपालिकाका प्रमुख केसीले बताउनुभयो । उहाँले म्याग्दी, मुस्ताङको धार्मिकस्थललाई भारतसँग जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
बस सेवाले मुक्तिनाथ दर्शनका लागि आउने भारतीय धार्मिक पर्यटकलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको बेनी नगर उपप्रमुख ज्याति लामिछानेले बताउनुभयो ।
धौलागिरि क्षेत्रबाट भारत जाने कामदार, स्वास्थ्य उपचारमा जाने बिरामी, भारत अध्ययनमा जाने विद्यार्थी, युरोपसमेत धेरै देशमा जान दिल्ली पुगेर भिसा लगाउनु पर्ने व्यक्तिलाई सहज नेपाल यातायात व्यावसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष यानकुमार शाहीले बताउनुभयो ।
कार्यक्रममा धौलागिरि गण्डकी यातायात प्रालिका अध्यक्ष उमेश केसी र पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष ज्ञानबहादुर केसीले बस सेवालाई निरन्तरता दिनका लागि म्याग्दीका सरोकारवालाहरूको साथ सहयोग हुनुपर्ने बताउनुभयो ।
बेनीबाट नयाँ दिल्लीसम्मको प्रतियात्रु शुल्क पाँच हजार चार सय नेपाली रुपियाँ र नयाँ दिल्लीबाट बेनी आउन ३२ सय सय भारु भाडादर निर्धारण गरिएको छ । समितिले उपलब्ध गराएको भाडादर अनुसार बेनीबाट लखनउसम्म ४ हजार ५ सय र अयोध्यासम्म पुग्न ४ हजार भाडादर तोकेको छ ।
म्याग्दीबाट २७ घन्टामा दिल्ली पुग्न सकिन्छ । बेनी–दिल्लीको दुरी १४ सय किलोमिटर छ । यसैबिच यात्रुले यात्रा गर्दा आफ्नो परिचय खुल्ने कागजात अनिवार्य प्रयोग गर्नुपर्ने छ ।