• २१ माघ २०८२, बुधबार

फोहोर नउठ्दा दुर्गन्धित र कुरूप बन्दै पोखरा

blog

पोखरा-९, नयाँबजारको सडक किनारमा थुप्रिएको फोहोर । तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, माघ २१ गते। हिमाली क्षेत्रमा हिमपात भएका बेला अक्सर पोखरा र यहाँबाट देखिने हिमालले सामाजिक सञ्जाल भरिन्थे ।

यसपालि पनि हिमपात भयो, माछापुच्छ्रेसहितका हिमाल सेताम्ये छन् । तर, सामाजिक सञ्जाल र सञ्चार माध्यममा पोखराको सौन्दर्य होइन, यहाँको कुरूप चित्रले ठाउँ पाएको छ ।

एक महिनादेखि फोहोर व्यवस्थापन नहुँदा एकातिर सडक दुर्गन्धित हुन थालेको छ भने अर्कातिर चोक, सडक छेउ र सार्वजनिक स्थानहरूमा फोहोरको डङ्गुर थुप्रिएको देखिन्छ । 

पोखरा–३२, लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल साइट भरिएपछि पुस अन्तिम साताबाट पोखराको फोहोर उठेको छैन ।लेकसाइड र मुख्य सडकमै फोहोर गन्हाउन थालेपछि केही फोहोर भने महानगरले खाल्डो खनेर सेती किनारको शान्तिवन वाटिकभित्र गाडेको थियो । 

महानगरले भने फोहोर व्यवस्थापनका लागि ठाउँ खोल्ने पहल भइरहेको जनाएको छ । महानगरका प्रमुख धनराज आचार्य चाँडै समाधान निस्कने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “प्रक्रिया जारी छ । सकेसम्म यसको छिटो व्यवस्थापन हुन्छ । त्यतिञ्जेलसम्मका लागि धैर्यधारण गरिदिनका लागि अनुराेध छ ।”

पोखरा–१४, बाच्छेबुडुवाको सेनिटरी ल्यान्डफिल साइट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुअघि बन्द गरिएपछि महानगरले ल्यान्डफिलका लागि नयाँ ठाउँ पाएको छैन । 

यो बिचमा ५० भन्दा बढी ठाउँ हेरिए पनि स्थानीयको अवरोधले प्रक्रियाअघि बढेको छैन । पछिल्लो महिनादेखि पोखरा ३३ को झाक्री खोलामा बनाउने भनिएको फोहोर प्रशोधन केन्द्रका कारण स्थानीय आन्दोलित छन् । 

पोखरा–३२, लामेआहालमा छ महिनाका लागि खोजिएको अस्थायी ल्यान्डफिल साइट साढे दुई वर्षसम्म सञ्चालनमा आउँदा पनि महानगरले नयाँ ल्यान्डफिलको व्यवस्था गर्न सकेन ।

फोहोर फाल्नका लागि ठाउँ खोज्नै समय लागेको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले बताउनुहुन्छ ।“हामी जहाँ ठाउँ खोज्न जहाँ गएका छौंँ, त्यहाँका नागरिकले अस्वीकार गरिरहेका छन् । वडा नम्बर ३३ मा दिएनन्, ३२ मा खाजेको त्यहाँ पनि भएन, ३० मा जाँदा पनि कुरो मिलेन,” उहाँले भन्नुभयो । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी फोहोरका कारण पर्यटन क्षेत्रमा समेत नकरात्मक सन्देश गएको उल्लेख गर्नुहुन्छ । पोखरामा अहिले दैनिक करिब दुई सय टन फोहर जम्मा हुने गरेको महानगरको तथ्याङ्क छ ।