• २१ माघ २०८२, बुधबार

भारतको दिल्लीबाट मुक्तिनाथ अब ३० घण्टामै

blog

बेनी दिल्ली बस सेवा सुभारम्भ ।

अमृतप्रसाद पौडेल 

म्याग्दी, माघ २१ गते ।विश्वकै अग्लो स्थानमा रहेको भगवान विष्णुको मन्दिर मुक्तिनाथ धामको दर्शन गर्नका लागि भारतको नयाँदिल्लीबाट अब ३० घण्टामै पुगिने भएको छ । 

म्याग्दीको सदरमुकाम बेनीबाट सिधै बस सेवामार्फत भारतको नयाँ दिल्ली सेवा सुरु भए पछि मुक्तिनाथका लागि सहज भएको हो । बुधबारदेखि मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले हरेक दिन बिहान ६ः४५ बजेदेखि बेनी कालिपुलबाट बस मार्फत सेवा दिने छ ।

बेनीदेखि छुटेको बस स्याङ्जा वालिङ, भैरहवा, अयोध्या, आग्रा हुँदै नयाँ दिल्लीसम्म पुग्ने छ ।नयाँदिल्ली देखि बेनी २७ घण्टा र बेनी देखि मुक्तिनाथ पुग्न ३ घण्टा लाग्ने भएकोले भारतीय पर्यटकहरूलाई दिल्लीदेखि मुक्तिनाथ पुग्न सहजता भएको हो ।

बेनी नगरपालिका–८, कालीपुल बसपार्कबाट बेनी नगर प्रमुख सुरत केसीले बस सेवाको शुभारम्भ गर्नुभएको छ । बस सेवा शुभारम्भ गर्दै नगर प्रमुख केसीले जिल्लाको धार्मिक तथा पर्यटन क्षेत्रलाई समेत टेवा पुर्‍याउने विश्वास गरिएको धारणा राख्नुभएको थियो ।

 म्याग्दीमा रहेका धार्मिक पर्यटकीय स्थलहरू गलेश्वरधाम, पुलहआश्रमका साथै मुस्ताङको मुक्तिनाथ र दामोदर कुण्ड दर्शनका लागि आउने भारतीय हिन्दु पर्यटकलाई यस सेवाबाट सहज हुने भएकाले प्रचारप्रसारमा सघाउने प्रमुख केसीको भनाइ छ ।

 बेनी नगरकी उपप्रमुख ज्योति लामिछाने, वडाध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, धौलागिरि गण्डकी यातायात प्रालिका अध्यक्ष उमेश केसी लगायतको उपस्थिति रहेको थियो । 

म्याग्दीबाट सिधै भारत जाने पहिलो यात्रु मङ्गला गाउँपालिका-१, भर्जुलाका उमेश किसानलाई आगामी दिन यात्रा गर्नु पर्दा हरेक यात्रामा २० प्रतिशत छुट दिने यातायात कम्पनीले जनाएको छ ।

 बेनीबाट नयाँ दिल्लीसम्मको प्रतियात्रु शुल्क पाँच हजार चार सय रुपियाँ र नयाँ दिल्लीबाट तीन हजार दुई सय भारु भाडादर निर्धारण गरिएको सृष्टि यातायात प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

बेनी नगरपालिकाका प्रमुख केसीले म्याग्दी तथा मुस्ताङको धार्मिकस्थललाई भारतसँग जोड्न, भारतीय पर्यटकलाई समेत भित्र्याउन भारतमा गर्ने प्रचारप्रसारमा आफूहरूले पनि सहयोग गर्ने बताउनुभयो ।

 बस सेवाका लागि भारतबाट बेनी आउनेलाई भारतको सरोजनी नगरबाट हरेक दिन साँझ ४ बजे छुट्ने छ । आधुनिक सुविधा रहेको बसमा यात्रा गर्ने क्रममा भारतका विभिन्न धार्मिक सहरको समेत अवलोकन गर्न सकिन्छ ।

 छिमेकी जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरम वार्षिक एक लाखभन्दा बढी भारतीय दर्शनका लागि आउने गरेका छन् ।म्याग्दीबाट भारत जान यस अगाडि पोखराबाट बस सेवा प्रयोग गर्नुपर्ने बाध्यता थियो । म्याग्दीबाट २७ घन्टामा दिल्ली पुग्न सकिन्छ । बेनी–दिल्लीको दुरी १४ सय किलोमिटर छ ।