• २० माघ २०८२, मङ्गलबार

राष्ट्रपति पौडेल र जापानी सम्राटबीच भेट

जापानको सहयोगबाट नेपाली लाभान्वित : राष्ट्रपति

blog

राष्ट्रपति रामचन्द्र पौडेल र सम्राट नारुहितोबिच जापानको इम्पेरियल प्यालेस, टोकियोमा शिष्टाचार भेटवार्ता हुँदै । तस्बिर : राष्ट्रपतिको सचिवालय

टोकियो (जापान), माघ २० गते । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबिच आज यहाँ शिष्टाचार भेटघाट भएको छ । जापानको चारदिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेल र सम्राट नारुहितोबिच इम्पेरियल प्यालेस, टोकियोमा शिष्टाचार भेटवार्ता भएको हो ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन सोमबार यहाँ आइपुग्नुभएको हो । सोही क्रममा राष्ट्रपति पौडेल र सम्राट नारुहितोबिच भेटवार्ता भएको हो ।

सो भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासको महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा जापानले गरेको सहयोग र खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो ।

“जापानले नेपाललाई मानव संसाधन, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्ना लगायतका क्षेत्रमा सहयोग गरिरहेको छ, यसबाट नेपाल र नेपाली अत्यन्त लाभान्वित भएका छन्”, सम्राट नारुहितोसँग भएको कुराकानीमा राष्ट्रपतिको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

उहाँले दुवै देश गौतम बुद्धको शिक्षा र आदर्शबाट प्रेरित रहेको पनि बताउनुभयो । “बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबिचको सम्बन्धलाई सुमधुर बनाउन बलियो पुलको काम गरेको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

दुवै देशबिच इतिहास, संस्कृति र आपसी सहयोगमा लामो समयदेखि आधारित सम्बन्ध, कूटनीतिक सम्बन्ध स्थापनायता अझ निकट र गहिरो मित्रताका साथ अघि बढेको राष्ट्रपति पौडेलको भनाइ थियो । “यस वर्ष हामीले मनाउँदै गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव हामीबिच स्थापित द्विपक्षीय सम्बन्धको एक कोसेढुङ्गा हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुवै देशबिचको सम्बन्धलाई थप मजबुत बनाएको बताउँदै राष्ट्रपति पौडेलले सन् १९८७ मा राजकुमारका रूपमा सम्राट नारुहितोले गर्नुभएको मैत्रीपूर्ण तथा विशिष्ट भ्रमणका क्रममा काठमाडौँ, भक्तपुर, पोखरा र लुम्बिनीको भ्रमणको स्मरण गर्नुभयो । साथै, उहाँले सन् २०२० मा आफूलाई 'ग्रान्ड कर्डन अफ दी अर्डर अफ द राइजिङ सन' बाट विभूषित गरेकोमा सम्राट र जापान सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

सो अवसरमा जापानका सम्राट नारुहितोले नेपाल–जापान कूटनीतिक सम्बन्धको वार्षिकोत्सव हर्षोल्लासका साथ मनाउनुपर्ने बताउनुभयो । सो अवसरमा उहाँले सन् १९८७ मा आफूले गरेको नेपाल भ्रमणको याद अझै ताजै रहेको उल्लेख गर्नुभयो ।

सम्राट नारुहितोले पोखरामा सराङ्कोट पदयात्रा गर्दा त्यहाँ महिलाहरूले खानेपानीका लागि गाग्री थापेको दृश्य देखेर पानीका विषयमा अध्ययन गर्ने प्रेरणा प्राप्त भएको सन्दर्भ उल्लेख गर्नुभयो । उहाँले नेपाललाई जापानले सकेसम्म सहयोग गर्ने बताउँदै प्राकृतिक विपद्हरूमा दुवै देशले एकअर्कालाई सहयोग गर्दै आएको स्मरण गर्नुभयो ।

जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले आजै जापानका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुहुने छ । चार दिने भ्रमण सकेर राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्कने कार्यक्रम रहेकाे छ ।