काठमाडौँ, माघ ५ गते । रङहरू एउटा यस्तो मौन भाषा हो, जसले शब्दले स्पर्श गर्न नसक्ने हृदयका गहिरा भावनालाई क्यानभासमा जीवन्त तुल्याउँछ । यो केवल कलाकारको कल्पना मात्र होइन, बरु समाजको ऐना र सभ्यताको सुन्दर दस्ताबेज पनि हो । नेपाली कला जगत् यतिबेला यस्तो मोडमा उभिएको छ, जहाँ हिजोको परम्परागत विरासत र आजको आधुनिक व्यावसायिकताबिच रोचक सङ्घर्ष र समन्वय भइरहेको छ ।
हिजोसम्म सोख र परम्पराका रूपमा मात्र सीमित चित्रकला आज व्यावसायिक मोडमा आइपुगेको छ । विशेष गरी जेनजीको आन्दोलन र आगमनसँगै नेपाली कलाको परिभाषा बदलिएको छ । युवाहरू यसलाई केवल रहरको विषय मात्र होइन, एउटा सम्मानित र सफल पेसाका रूपमा अँगाल्न हौसिएका छन् तर यो कलात्मक यात्रा देखिने जस्तो सहज भने छैन । ग्यालरीका भित्तामा झुन्डिएका चित्र धेरैका आँखामा परे पनि ती चित्र कमै बिव्रmी हुन्छन् । नेपाली समाजमा अझै पनि कलालाई खरिद गर्ने संस्कृतिको अभाव छ । यसले गर्दा हाम्रा ग्यालरी कला बेच्ने थलो भन्दा पनि केवल प्रदर्शनी स्थलमा सीमित भएका छन् ।
बजारको यो रिक्ततालाई चिर्न राज्यका तर्फबाट ठोस नीति र वातावरणको अपेक्षा गरिरहेको नयाँ पुस्ता कलाको अभिभावकीय संस्था नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को सुस्त र परम्परागत कार्यशैलीप्रति त्यति सन्तुष्ट छैन । युवा कलाकारहरू आफ्ना आधुनिक आवाज र विश्वव्यापी सपना राज्यको नीतिगत पर्खालभित्र थुनिएको महसुस गर्छन् ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ प्रदीप अधिकारीको तर्क भने सन्तुलित छ । उहाँका अनुसार प्रतिष्ठानले कलाकारको व्यक्तिगत पाइला चियाउनुभन्दा पनि समग्र कला क्षेत्रमा भइरहेका हलचललाई सूक्ष्म रूपमा नियालिरहेको हुन्छ । अधिकारी स्पष्ट हुनुहुन्छ, “प्रतिष्ठान कलाकारको अभिभावक त हो, तर यसका हात नीति र नियमका परिधिले बाँधिएका छन् ।” उहाँ थप्नुुहुन्छ, “कलाकारले केवल गुनासो गर्ने होइन, स्पष्ट योजनासहित लिखित प्रस्ताव ल्याउनु पर्छ । नीति र नियमावलीको सीमाभित्र रहेर गरिने हरेक मागमा ललितकलाले सधैँ साथ दिने छ ।”
संस्थागत नियम र नीतिभित्रका यी बहस भइरहँदा, कतिपय कलाकार भने प्रशासन र ग्यालरीको पर्खाल पर्खेर बसेनन् । फलस्वरूप चित्रकला अब ग्यालरीको घेराभित्र मात्र सीमित छैन, यो ‘ओपन ग्यालरी’ का रूपमा सडकमा ओर्लिएको छ जुन नेपाली कलाका लागि एक सुखद रूपान्तरण हो ।
स्वतन्त्र कलाकारहरू आफ्नै ग्यालरीमा सव्रिmय हुने भएकाले प्रतिष्ठानसँगको सम्बन्ध औपचारिकतामा मात्र सीमित रहेको कलाकार एससी सुमन बताउनुहुन्छ । सरकारी नीतिनियमको सीमाले गर्दा प्रतिष्ठानको भूमिका प्रदर्शनीको अनुगमन र शुभकामनामा मात्र खुम्चिएको उहाँको ठम्याइ छ । बजारमा मन्दी छाएकाले सङ्कलनकर्ता चित्र खरिदमा इच्छुक नदेखिएको बताउँदै सुमन भन्नुहुन्छ, “अहिले कलाकारहरू प्रतिष्ठानको भर पर्नुको साटो व्यक्तिगत पहल र आफ्नै ग्यालरीमार्फत अघि बढिरहेका छन् ।”
बजारको यही व्यक्तिगत सङ्घर्षसँगै कलाको आन्तरिक गुणस्तर र यसले समाजमा पार्ने प्रभावका बारेमा पनि नयाँ विमर्श सुरु भएको छ । चित्रकला क्यानभासमा कोरिएको आकृति मात्र होइन, यो त प्राचीन पौभादेखि आधुनिक डिजिटल आर्टसम्म व्याप्त हाम्रो सभ्यताको ऐना हो । आज चित्रकला केवल घर सजाउने सो पिसमा सीमित छैन, यो त सामाजिक विसङ्गतिविरुद्ध बोल्ने शक्ति बनेको छ ।
कलाकार रवीन्द्र श्रेष्ठका लागि चित्रकला साधना र जीविकोपार्जनको दरिलो सङ्गम हो । दशकौँदेखि कुचीसँग पौँठेजोरी खेलिरहेका श्रेष्ठ पछिल्लो समय जेनजीले ल्याएको परिवर्तन र कलाको गहिराइलाई सकारात्मक रूपमा लिनुहुन्छ । उहाँका अनुसार अहिले एउटै सिर्जनाको पूर्णताका लागि महिनौँको समय र धैर्य खर्चिनु पर्छ, जसले कलालाई थप परिष्कृत र वैश्विक बनाएको छ ।” श्रेष्ठ ललितकला प्रज्ञा–प्रतिष्ठानलाई साझा घर मान्नुहुन्छ तर कलालाई कुनै पनि बन्धनमा कैद गर्न नसकिने तर्क पनि राख्नुहुन्छ ।
श्रेष्ठले उल्लेख गरेको यही साधना र धैर्यको कसीमा आजको युवा पुस्तालाई तौलने हो भने त्यहाँ केही रिक्तता देखिन्छ । युवा पुस्तामा चित्रकलाप्रति आकर्षण बढे पनि दक्षतामा निखारता आउन बाँकी रहेको ललितकलामै स्नातक गर्नुभएकी कलाकार प्रशंसा शाक्य बताउनुहुन्छ । ललितकला प्रज्ञा–प्रतिष्ठानले गर्ने महोत्सव सराहनीय भए पनि व्यवस्थापकीय पक्ष फितलो रहेको उहाँको गुनासो छ । महोत्सवपछि कलाकृतिको उचित हेरचाह नहुँदा फ्रेम फुट्ने र क्यानभास च्यातिने गरेको उल्लेख गर्दै उहाँ भन्नुहुन्छ, “प्रतिष्ठानले नयाँ कलाकारलाई दिने ध्यान र प्रशासनिक कार्यमा सुधार गर्न आवश्यक छ ।”
नेपाली चित्रकला जगत् यतिबेला सङ्व्रmमण र सम्भावनाको दोसाँधमा छ । एकातिर पुस्तान्तरणको लहर छ भने अर्कोतिर संस्थागत कठोरताको चुनौती । जबसम्म समाजले कलालाई सजावट मात्र होइन, एउटा लगानी र पहिचानका रूपमा बुझ्दैन, तबसम्म यी रङले पूर्णता पाउने छैनन् ।