नवराज नेपाली
बागलुङ (गलकोट), वैशाख २३ गते । बढ्दो शहरीकरणका कारण कुरूप बन्दै गएको बागलुङ बजारलाई क्रमशः सौन्दर्यकरण गर्ने कार्य सुरु गरिएको छ।
बागलुङ नगरपालिकाले बजार क्षेत्रका घरका भित्ता प्लास्टर गरी रङरोगन गर्ने, पुराना विद्युत् पोल हटाउने तथा अव्यवस्थित तारहरूको गुजुल्टो हटाउने काम धमाधम अघि बढाएको हो। सार्वजनिक बिदाको समयको उपयोग गर्दै नगर प्रहरीसहितका कर्मचारीलाई बजार सौन्दर्यकरणमा खटाइएको छ।
जिल्ला सदरमुकाम बागलुङ बजारलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने उद्देश्यसहित अव्यवस्थित इन्टरनेट, केबल टिभी तथा विद्युत् तार र पोल हटाउने अभियान तीव्र पारिएको बागलुङ नगरपालिका का नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो।
“बिदाको समयको उपयोग गर्दै बजार सौन्दर्यकरणको काम भइरहेको छ। मुख्य १० चोकमा हाइमास्ट प्रविधिको बत्ती जडान गरिएको छ। इँटाको जंगलजस्तो देखिने घरका बाहिरी भित्तामा घरधनीहरूले आफैँ प्लास्टर गरी रङरोगन गर्दा बजार आकर्षक देखिएको छ,” उहाँले भन्नुभयो। “शनिबार र आइतबारको बिदामा नगर प्रहरीसहित कर्मचारीको समूह दमकल, डोजरलगायतको सहयोगमा अव्यवस्थित तार र पोल हटाउने काममा खटिएको छ।”
हाल बागलुङ बजारको बाघचोक र समीक्षालय चोकमा डिजिटल बोर्ड, सडक बत्ती र फुटपाथ व्यवस्थापनका कारण बजार विस्तारै सौन्दर्यकरण हुँदै गएको देखिएको छ।
बागलुङ बजारको स्वरूप नै बिगार्ने गरी जथाभावी टाँगिएका तार, अनावश्यक होर्डिङ बोर्ड तथा पुराना पोल हटाउने काम तीव्र रूपमा भइरहेको छ। नगरपालिकाले नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम तथा ट्राफिक प्रहरी कार्यालय बागलुङको सहकार्यमा अभियान सञ्चालन गरेको हो।
नगरप्रमुख श्रेष्ठका अनुसार सम्बन्धित सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरूको संयुक्त अनुगमनपछि चिन्ह लगाइएका पोल र तार हटाउने काम सुरु गरिएको छ। हालसम्म करिब ५० वटा विद्युत् पोल हटाइसकिएको छ।
समिक्षालय चोकदेखि हल्लनचोक, धौलागिरि चोक, जिपपार्क, अस्पताल रोड, बालमन्दिर, लालीगुराँस चोक हुँदै गोदामघर क्षेत्रसम्म तार व्यवस्थापन र पोल हटाउने काम गरिएको छ। हाल अदालत रोड क्षेत्रमा काम भइरहेको छ। प्रयोगमा नआएका विद्युत् तथा इन्टरनेटका तार पनि हटाइएका छन्।
बजारलाई थप आकर्षक बनाउन पोलमा तीन मिटर उचाइसम्म चार प्रकारका रङ लगाउने र गमलामा फूल रोप्ने योजना रहेको छ। हाल बाघचोकका गमलामा फूल रोपिएको छ।
फोहोर तथा वातावरण उपशाखा संयोजक हरिनारायण उपाध्यायका अनुसार दुई दिने सार्वजनिक बिदाको समयलाई सदुपयोग गर्दै सौन्दर्यकरणका काम गरिएको हो।
विद्युत् प्राधिकरणले नयाँ पोल जडान गर्दै पुराना पोल हटाउने र केबल तार विस्तार गर्ने काम गरेपछि बजार क्षेत्र थप सुरक्षित बन्दै गएको नगरपालिकाले जनाएको छ।
सौन्दर्यकरण अभियानअन्तर्गत सार्वजनिक शौचालय, फुटपाथसहितको नाली निर्माण, ऐतिहासिक पार्क पुनर्निर्माण तथा नक्सा पास गर्दा घरको बाहिरी भाग अनिवार्य प्लास्टर गर्नुपर्ने व्यवस्था लागू गरिएको छ।