• २३ वैशाख २०८३, बुधबार

एकीकृत घुम्तीमार्फतले १७ सय २१ जनाले लिए सेवा

blog

एकीकृत घुम्ती सेवा शिविरमा सेवा लिनु हुँदै सेवाग्राहीहरू । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 
ताप्लेजुङ, वैशाख २३ गते ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सोमबारदेखि सुरु भएको एकीकृत घुम्ती सेवा शिविरमा दुई दिनमा एक हजार ७२१ जना सेवाग्राहीले सेवा लिएका छन् । सोमबार र मङ्गलबार दुई दिन वडा नं. १ र २ ढुङ्गोसाँघुका नागरिकहरूले सेवा लिएका हुन् ।

पालिकाको कार्यालयमार्फत प्रदान हुँदै आइरहेको सेवा हरेक वडामा नागरिकलाई प्रदान गरि सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो । उहाँका अनुसार सोमबारदेखि सुरु भएको घुम्ती सेवा शिविरमा पालिकाको आयुर्वेद तथा औषधालय सहित १४ ओटा शाखाले सेवाग्राहीलाई सेवा प्रदान गरेको छ ।

त्यस्तै सोही शिविरमार्फत सामाजिक सुरक्षा भत्ता समेत वितरण गर्नुका साथै नागरिकको गुनासो, राय, तथा सुझाव ग्रहणका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम समेत गरिएको छ । शिविरको पहिलो दिन ८८३ र दोस्रो दिन ८३८ जना नागरिकले सेवा लिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी माया गोम्देनले जानकारी दिनुभयो ।

घण्टौँ समय खर्चिएर पालिकासम्म पुगेर लिइने सेवा आ–आफ्नो वडामा आउँदा सेवाग्राहीको चाप समेत बढी भएको अध्यक्ष वनेमले बताउनुभयो । अध्यक्ष वनेमका अनुसार नागरिकलाई स्थानीय सरकार रहेको अनुभुति गराउन टोलटोल पुगेर शिविरमार्फत सेवा प्रदान गरिएको हो ।

बुधबार ६ नं. वडा फाकुम्बास्थित श्री महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा, बिहीबार ५ नं। वडाको कार्यालयमा र शुक्रबार ४ नंं. वडाको श्री गङ्गा आधारभुत विद्यालयको खेलमैदानमा शिविर सञ्चालन गर्ने तालिका रहेको छ ।

यस्तै पालिकाको केन्द्र रहेको ३ नं. वडा साँघुस्थित श्री नारायणी माध्यमिक विद्यालयको खेलमैदानमा आगामी वैशाख ३० गते घुम्ती सेवा शिविर सञ्चालन गर्ने तयारी भइरहेको छ । उक्त शिविरमा उपस्थित भई सेवा लिन आम गाउँपालिकाबासीलाई पालिकाले आग्रह समेत गरेको छ ।

शिविरमा सार्वजनिक सुनुवाइ कार्यक्रम समेत हुने भएको छ । मैवाखोला गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासङ्घ ताप्लेजुङको सहजिकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भएको हो ।