नेत्र शाही
जुम्ला, वैशाख २३ गते । करिब २९ सय मिटर उचाइमा रहेको जुम्लाको हिमा गाउँपालिका–ओदीमा १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले गर्नुभएको हो।
मन्त्री भण्डारीले खेलकुद क्षेत्रको प्रवर्धनका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले खेलाडीलाई जिल्लादेखि प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुगेर सफलता हासिल गर्न शुभकामना पनि दिनुभयो।
जिल्ला सदरमुकामबाट टाढा र उच्च हिमाली क्षेत्रमा प्रतियोगिता आयोजना गरिएकोले खेलाडीका लागि यो अवसर मौलिक र उपयोगी हुने अपेक्षा गरिएको छ।
१५ औँ संस्करणपछि हिमा गाउँपालिकाको निर्णयअनुसार यसपटक प्रतियोगिता ओदीमा आयोजना गरिएको हो।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले विद्यार्थीहरूलाई सिर्जनशील तरिकाले आफ्नो खेल प्रतिभा प्रस्तुत गर्न आग्रह गर्नुभयो। उहाँले उच्च हिमाली तथा दुर्गम क्षेत्रमा आएर सहभागी भएका मन्त्रीसहित सबै अतिथिलाई धन्यवाद पनि ज्ञापन गर्नुभयो।
उहाँले ओदीजस्ता दुर्गम क्षेत्रको सडक सुधार र सिंजा सभ्यता संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। प्रतियोगितामा जुम्लाका विभिन्न स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको छ।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले दुर्गम क्षेत्रमा पनि यस्तो प्रतियोगिता आयोजना गरेकोमा हिमा गाउँपालिकालाई धन्यवाद दिनुभयो।