• २३ वैशाख २०८३, बुधबार

चितुवाको आक्रमणबाट धनुषामा एक जना घाइते

blog

चितुवाको आक्रमणबाट घाइते विकको उपचार गरिँदै । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 
ढल्केबर, वैशाख २३ गते ।
धनुषाको मिथिला नगरपालिका–७, केमलीपुरमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । बुधबार बिहान ९ बजे स्थानीय ४८ वर्षीय किर्तिमान विक चितुवाको आक्रमणमा परी घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले घाइते विकको ढल्केबरस्थित एक निजी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताउनुभयो । उहाँको अवस्था अहिले सामान्य रहेको र शरीरको पिठ्युँलगायत विभिन्न भागमा कोतरिएको जानकारी दिनुभयो ।

वडाध्यक्ष रामबहादुर स्याङ्दनका अनुसार निलगाई रोकथामका लागि लगाइएको तारजालीमा चितुवा फसेको थियो । सोही खबर सुनेर त्यसस्थानमा पुगेका विकमाथि चितुवाले आक्रमण गरेको उहाँले बताउनुभयो ।

हाल चितुवा अझै पनि सोही तारजालीमा पासोमा परेको अवस्थामा छ । चितुवाको सुरक्षित उद्दारका लागि वन कार्यालय तथा सुरक्षाकर्मीलाई खबर गरिएको वडाध्यक्ष स्याङ्दनले जानकारी दिनुभयो ।