काठमाडौँ, वैशाख ६ गते । नेपाली चलचित्र जगत्मा कहिल्यै नमेटिने छाप छाड्न सफल नाम हो, तुलसी घिमिरे । ‘कुसुमे रुमाल’ देखि ‘दर्पणछाया’ सम्मका कालजयी चलचित्र पस्किसक्नुभएका घिमिरेको निर्देशकीय जादु पुनः पर्दामा हेर्न दर्शकले लामो समय प्रतीक्षा गर्नु प¥यो । ठ्याक्कै यही सन्दर्भमा, चलचित्र ‘पहाड’ को सबैभन्दा सबल र आशालाग्दो पक्ष भनेकै यिनै दिग्गज निर्देशकको ठुलो पर्दामा भएको पुनरागमन हो । मौलिक कथा वाचन र मानवीय संवेदनालाई पर्दामा उतार्न खप्पिस घिमिरेले यस पटक चलचित्रको गम्भीर समस्यालाई आफ्नो क्यानभास बनाउनुभएको छ । यद्यपि बदलिँदो समय र दर्शकको बदलिएको रुचिका बिच उहाँको चलचित्रले हलसम्म दर्शकलाई कत्तिको आकर्षित गर्न सक्छ, त्यो भने भविष्यकै गर्भमा छ ।
कथाको पृष्ठभूमि कुनै एउटा दुर्गम बस्तीबाट सुरु हुन्छ, जहाँ प्रकृतिको वरदान मानिने पानी नै जीवनको सबैभन्दा ठुलो अभिशाप बनेको छ । गाउँमा पानीको चरम हाहाकार छ; बिहान उज्यालो नहुँदै एउटा सानो ढुङ्गेधारामा सुरु हुने गाग्रीको लाइन र त्यही धाराबाट रसाउने थोरै पानी नै सारा गाउँलेको प्यास मेटाउने र चित्त बुझाउने एक मात्र सहारा हो । यही प्राकृतिक सङ्कटको फाइदा उठाउँदै गाउँमा स्वार्थको खेल सुरु हुन्छ ।
गाउँका टाठाबाठा पात्र नरसिंहबाजे (स्व. सुनील थापा) ले गाउँमा परेको खडेरी र विपन्नतालाई हतियार बनाउनुहुन्छ । उहाँले व्यक्तिगत लाभका लागि एउटा बहुराष्ट्रिय फ्याक्ट्रीलाई सिङ्गै गाउँ बेचिदिने प्रपञ्च रच्नुहुन्छ, जसले गाउँलेलाई थातथलोबाटै विस्थापित गर्ने जोखिम निम्त्याउँछ तर यो अन्यायपूर्ण निर्णयको विरुद्धमा उहाँकै छोरी तारा (पञ्चमी घिमिरे) चट्टान झैँ उभिनुभएपछि कथामा नयाँ मोड आउँछ । आफ्नै बुवाको स्वार्थी कदमको विपक्षमा विद्रोहको राँको बाल्ने तारालाई उहाँका प्रेमी अर्जुन (अरुण क्षेत्री) ले साथ दिनुहुन्छ । यसरी चलचित्रले पानीको अभावसँगै नैतिकता, प्रेम र पुस्तान्तरणको द्वन्द्वलाई एकसाथ अगाडि बढाएको छ ।
कथाको एउटा बलियो उपकथा अभिनेता अरुण क्षेत्री (अर्जुन) को वरिपरि घुमेको छ । हजारौँ नेपाली युवा झैँ उज्ज्वल भविष्यको अभिलाषा बोकेर अमेरिका जाने सपना पाल्नुभएका अर्जुनको त्यो उडान बिचैमा तुहिन्छ तर दुर्भाग्य ! केवल सपना मात्र टुट्दैन, उहाँमाथि ऋणको एउटा ठुलो पहाड नै बजारिन्छ । त्यही आर्थिक बोझ र पारिवारिक दायित्वको भारीले थिचिएपछि उहाँ अन्ततः लुकिछिपी ‘मुगलान’ (भारत) पस्न बाध्य हुनुहुन्छ । यो मोडले चलचित्रलाई केवल ‘गाउँको कथा’ बाट ‘परदेसिएको नेपालीको साझा पीडा’ तर्फ कलात्मक रूपमा मोडिदिएको छ ।
परदेशको त्यही अनकन्टार र अँध्यारो गल्लीमा अर्का रहस्यमय पात्र ‘राजा’ (विपिन कार्की) को उदय हुन्छ । राजाको कथा अझै कारुणिक र अन्धकारमय छ । आमा (प्रियङ्का कार्की) को परदेशमै मृत्यु भएपछि एक्लो र सहाराविहीन बनेका राजा बिस्तारै अपराधको दल दलमा भासिन्छन् । पहिचान र अस्तित्वको खोजीमा भौँतारिरहेका यी पात्रको भेट जब एक अनुभवी ‘नेपाली’ (शिव श्रेष्ठ) सँग हुन्छ, तब कथामा नयाँ आशा र ऊर्जाको सञ्चार हुन्छ । श्रेष्ठको उपस्थिति चलचित्रका लागि एउटा बलियो सेतुका रूपमा देखिएको छ ।
उता गाउँमा भने पानीको हाहाकार चरम उत्कर्षमा छ । नरसिंहको गाउँ बेच्ने योजना अन्तिम चरणमा पुग्दै गर्दा परदेशमा छरिएका पात्र राजादेखि अर्जुनसम्म एउटा गम्भीर आत्मबोधका साथ आफ्नो माटोमा फर्कन्छन् । पात्रहरूको यो फिर्तीसँगै चलचित्रको गति एकाएक बदलिन्छ । अबको लडाइँ केवल पानीका लागि मात्र रहँदैन; यो त आफ्नो अस्तित्व, पुख्र्यौली थातथलो र माफियातन्त्रविरुद्धको एउटा महासङ्ग्राम बन्न पुग्छ । के यी युवाले गाउँ बेच्ने कुचक्रलाई रोक्न सक्लान् ? के सुक्खा खडेरी लागेको त्यो बस्तीमा पुनः आशाको मूल फुट्ला ? स्वार्थको जित होला कि सामूहिक सङ्घर्षको ?
चलचित्रले सुक्खापन र परदेशको सकसलाई पर्दामा उतार्ने सराहनीय प्रयास गरेको छ । पटकथामा निर्देशकको मेहनत देखिन्छ, जसले दर्शकलाई कथासँग जोड्न मद्दत गर्छ । अभिनयको पाटोमा विपिन कार्की र रवीन्द्रसिंह बानियाँले आफ्नो साख र गम्भीरता जोगाउनुभएको छ । मदनकृष्ण श्रेष्ठको उपस्थितिले चलचित्रको गरिमा प्रदान गरेको छ भने रेणुनाथ योगीको भूमिका प्रगाढ छ । यद्यपि मुख्य पात्रका रूपमा निर्देशक पुत्री पञ्चमी घिमिरेको अभिनयमा परिपक्वताको अभाव खड्किन्छ भने अरुण क्षेत्रीको अभिनय औसत छ । प्राविधिक रूपमा पाश्र्वसङ्गीत प्रभावकारी भए पनि छायाङ्कन र सम्पादनमा कुनै नवीन प्रयोग भेटिँदैन ।
‘लाहुरे’ देखि ‘दर्पणछाया’ सम्मका सफल चलचित्र दिनुभएका घिमिरेले परदेसिएका युवालाई स्वदेश फर्काउने सुन्दर सन्देशसहित ‘पहाड’ ल्याउनुभएको छ । उहाँको यो उद्देश्य उच्च र वन्दनीय छ तर एउटा असल सन्देश मात्र सफल चलचित्रका लागि पर्याप्त हुँदैन । आजको बदलिँदो दर्शकको रुचि र आधुनिक मेकिङ शैलीलाई सही ढङ्गले आत्मसात् गर्न नसक्दा निर्देशक घिमिरे धेरै ठाउँमा चुक्नुभएको छ । सुस्त गति र पुरानो ढर्राको प्रस्तुतिले गर्दा चलचित्र एउटा इमानदार प्रयास भएर पनि निर्देशकको गौरवशाली विरासतलाई भेट्न सङ्घर्षरत देखिन्छ ।