काठमाडौँ, वैशाख १८ गते । कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथासङ्ग्रह नासोभित्रको उत्कृष्ट कथा हो, ‘परालको आगो’ । यस कालजयी कृतिलाई पहिलो पटक निर्देशक प्रताप सुब्बाले पर्दामा उतार्नुभएको थियो । त्यसबेला चलचित्र ‘ब्ल्याक एन्ड ह्वाइट’ (श्वेतश्याम) प्रविधिमा निर्माण गरिएको थियो, जसको पटकथा र संवादसमेत निर्देशक सुब्बा आफैँले लेख्नुभएको थियो । चलचित्रमा चामेको भूमिकामा कलाकार टङ्क शर्मा र गौँथलीको भूमिकामा अभिनेतृ वसुन्धरा भुसाल देखिनुभएको थियो । चामे र गौँथलीका माध्यमबाट देखाइएको त्यो मार्मिक पारिवारिक कथा तत्कालीन समयमा निकै लोकप्रिय भएको थियो ।
मैनालीको सोही चर्चित कृतिमा आधारित रहेर अहिले पुन : रङ्गीन परिवेशमा ‘परालको आगो’ निर्माण भएको छ । यस पटकको चलचित्रलाई सुशील पोखरेलले निर्माण र लक्ष्मण सुनारले निर्देशन गर्नुभएको हो । ‘बुढाबुढीको झगडा–परालको आगो’ भन्ने उखान अहिले पनि नेपाली गाउँघरमा उत्तिकै प्रचलित छ । कथाकार मैनालीको यस कृतिको मुख्य सन्देश पनि यही नै हो । श्रीमान्श्रीमतीको सम्बन्ध परालको आगो जस्तै हो; जुन जति छिटो सल्कन्छ, त्यति नै छिटो निभ्छ । चलचित्रको कथा पनि श्रीमान्श्रीमतीको माया र मनमुटावभित्र घुमेको छ । कथाकार मैनालीले परिकल्पना गरेका चर्चित पात्रहरू चामे र गौँथलीका रूपमा यस पटक क्रमश : प्रकाश सपुत र सुहाना थापा प्रमुख भूमिकामा प्रस्तुत हुनुभएको छ । लामो समयको मनमुटाव र झगडापछि श्रीमतीलाई घर फर्काउन सफल भएका चामेले अबदेखि कहिल्यै नकुट्ने र झगडा नगर्ने वाचा गर्नुहुन्छ । चामे र गौँथलीको सुखद मिलन देखेर कथाका अन्य पात्र जुठे (सौगात मल्ल) र उहाँकी श्रीमती सुन्तली (सिर्जना अधिकारी) बिचको संवादले कथाको मर्मलाई थप प्रस्ट पारेको छ ।
चलचित्रमा सङ्कल्प भुजेलको उत्कृष्ट छायाङ्कनले दर्शकलाई कथाको पुरानो कालखण्डको जीवन्त अनुभूति गराउने सफल प्रयास गरेको छ । चलचित्रमा ग्रामीण परिवेशका मनमोहक दृश्यलाई कलात्मक रूपले देखाइएको छ । यस्तै त्यसभित्र प्रयोग गरिएका केही संवाद द्विअर्थी लाग्छन् भने कतिपय निकै दार्शनिक र गम्भीर प्रकृतिका छन् ।
चलचित्रको प्राविधिक पक्ष सबल देखिए पनि पात्रको रूपान्तरण र अभिनयको गहिराइमा भने केही खट्किने पाटा छन् । विशेष गरी मुख्य पात्र चामेको चारित्रिक विकास अलि फितलो महसुस हुन्छ । चामेको भूमिकामा देखिएका कलाकारको अभिनयमा जुन प्रकारको ‘रेन्ज’ र स्वाभाविक उतारचढाव हुनुपर्ने हो, त्यो संवादको तुलनामा सुस्त देखिन्छ । चामेको चरित्र पर्दामा जीवन्त लाग्नुभन्दा पनि संवादले मात्र थिचिएको जस्तो भान हुन्छ, जसका कारण दर्शकले उसको आन्तरिक द्वन्द्वलाई महसुस गर्न कठिन पर्छ ।
गौँथलीको भूमिकामा पनि संवादको प्रभावकारिता कमजोर देखिन्छ । गौँथलीको चरित्रमा जुन किसिमको भावनात्मक आरोहअवरोह र बोलीमा हुनुपर्ने स्वाभाविक उतारचढाव आवश्यक थियो, त्यो प्रदर्शन हुन सकेको छैन । यसले गर्दा पात्र र परिस्थितिको गम्भीरता कता कता ओझेलमा परेको छ ।
निर्देशकले कतिपय दृश्यलाई विम्बात्मक रूपमा प्रस्तुत गर्ने प्रयास त गर्नुभएको छ तर ती विम्ब कथाको प्रवाहसँग सुहाउँदो र अर्थपूर्ण लाग्दैनन् । विम्ब आफैँमा एउटा भाषा हुनुपर्नेमा यहाँ ती केवल एउटा प्राविधिक प्रयोगमा मात्र सीमित भएका छन्, जसले गर्दा आमदर्शकलाई कथाको गहिराइसम्म पुग्न अलमल गराउँछ । एउटा क्लासिक कथालाई आधुनिक स्वरूप दिँदा पात्रको अभिनय र दृश्यको अर्थपूर्ण संयोजनमा जुन सन्तुलन हुनुपथ्र्यो, त्यसको अभावले गर्दा चलचित्रका केही दृश्यमा स्टेज नाटक जस्तो मात्र देखिन पुगेको छ ।