• १४ चैत २०८२, शनिबार

द्वन्द्वले टिकेको ‘धुरन्धर–२’

blog

काठमाडौँ, चैत १४ गते । बलिउडका चलचित्रले एक सय करोडको व्यापार गर्नु अब औसत भइसक्यो । कुनै बेला ‘खान’ अभिनीत जुनसुकै चलचित्रले करोडको व्यापार गर्नुलाई सामान्य लिइन्थ्यो तर अहिले समय फेरिएको छ, खानहरूको विरासतलाई तोड्दै नयाँ पुस्ताका अभिनेताले एकपछि अर्को रेकर्ड तोडिरहेका छन् । व्यापार अब एक करोडमा होइन, पाँच सय र हजारभन्दा माथि पुगेको छ । 

कथावस्तु, निर्देशन मात्र होइन अभिनयका कारणले पनि अहिलेका चलचित्रलाई दर्शकले मन पराएका छन् । हालै मात्र प्रदर्शित चलचित्र ‘धुरन्धर–२’ ले एकपछि अर्को रेकर्ड तोड्दै छ । बलिउडमा सबैभन्दा बढी कमाउने चलचित्रमा माथिल्लो सूचीमा पर्न एक कदमपछाडि मात्र छ यो चलचित्र । रणवीर सिंहको सशक्त अभिनयले सिङ्गो चलचित्रलाई घुमाएको छ । यसअघि प्रदर्शित ‘धुरन्धर’ मा भन्दा पनि अब्बल अभिनय गर्नुभएको छ रणवीरले । चलचित्रका निर्देशक अदित्य धरले दर्शकको उत्सुकतालाई मर्न नदिएर दोस्रो शृङ्खलालाई थप मनोरञ्जनात्मक बनाउनुभएको छ । 

चलचित्रको कथा जसकिरतसिंह रङ्गी (रणवीर सिंह) को वरिपरि घुम्छ, जसलाई जस्सी पनि भनेर बोलाउने गरिन्छ । सेनामा भर्ती भएर देशको सेवा गर्ने चाहना राख्ने उहाँको जीवन परिवारमाथि परेको अन्यायपछि परिवर्तन हुन्छ । रिस र बदलाको भावनाले उहाँ परिवारप्रति अन्याय गरेका विधायकको घरमा मात्र हैन, त्यहाँ सबैको नरसंहार गर्नुहुन्छ । जसले उहाँलाई आजीवन कारावासको सजाय हुन्छ । जेलमा उहाँको आइबी निर्देशक अजय सन्याल (आर. माधवन) सँग भेट हुन्छ । जस्सीभित्र बलेको आगोलाई देखेर उहाँलाई देशको सेवा गर्ने मौका दिइन्छ । जस्सीले नयाँ पहिचान बनाउनुहुन्छ र पाकिस्तानमा एक एजेन्टका रूपमा प्रवेश गर्नुहुन्छ । उहाँले आफ्नो नाम परिवर्तन गरेर हमजा अली मजारी राख्नुहुन्छ र एउटा डरलाग्दो अभियान पूरा गर्ने अठोटमा लाग्नुहुन्छ । रहमान डाकु (अक्षय खन्ना) को मृत्युपछि उहाँले चलाखीपूर्वक आफ्नो रहमानका भाइ उजैर (दानिस पान्डोर) लाई असफल बनाउने काम गर्नुहुन्छ । उहाँले पर्दापछाडिबाट अनेकन खेल चलाउनुहुन्छ र ‘लियारीको राजा’ बन्नुहुन्छ । चलचित्रको कथा अगाडि बढ्दै जाँदा हमजाले ‘बडे साहेब’ नाम गरेका गुन्डासँग पनि भेट्नुहुन्छ । यसपछि चलचित्रमा अनेकन ‘ट्विस्ट’ आउन थाल्छन् । हमजाको वास्तविक उद्देश्य बदला हो वा ठुलो अभियान, र उहाँ सफल हुनुहुन्छ कि हुँदैन ? यही प्रश्नभित्र टिकेको छ चलचित्र । 

रणवीर सिंह चलचित्रको मुटु र आत्मा हुनुहुन्छ । उहाँले जसकिरत र हमजा दुवैलाई यति विशिष्ट र प्रभावकारी अभिनयका साथ चित्रण गर्नुभएको छ कि छुट्याउन गाह्रो हुन्छ । राकेश बेदी फेरि एक पटक आश्चर्यजनक अभिनयमा देखिनुभएको छ । सञ्जय दत्तले आफ्नो सीमित अभिनयमा प्रभाव पार्ने काम गर्नुभएको छ । जब आर. माधवन पर्दामा देखा पर्नुहुन्छ, चलचित्रभित्र बिग्रँदै गएको अवस्था स्थिर हुन्छ । दोस्रो शृङ्खलामा उहाँको चरित्रलाई अझ बढी उजागर गरिएको छ । उहाँको बदलाको दृश्यले पक्कै नै दर्शकलाई उत्साहित बनाउँछ । नायिका सारा अर्जुनको चलचित्रमा एउटा मात्र प्रमुख दृश्य छ । चलचित्रको बाँकी दृश्यबाट उहाँ पूर्ण रूपमा अनुपस्थित देखिनुहुन्छ । अर्जुन रामपालको अभिनयमा खासै दम देखिँदैन । दर्शकले यदि उहाँबाट ठुलो अपेक्षा गरेर चलचित्र हेर्न गएको हो भने त्यो बेकार हुन्छ । 

चलचित्रको निर्देशन असाधारण छ । निर्देशक धर दर्शकको ध्यान चलचित्रमा व्यस्त राख्न सफल हुनुभएको छ । उहाँले दर्शकलाई चलचित्रमा ध्यानमग्न बनाउन विभिन्न उपाय अपनाउनुभएको छ । चलचित्रभित्र द्वन्द्वका दृश्यबाहेक, नोटबन्दी, अतिक अहमद र दाउद इब्राहिमबिच बनाएको सम्बन्ध साँच्चै नै रमाइलो छ । चलचित्रको सुरुवात र अन्त्यबाहेक सबै कुरा प्रभावशाली नै छन् । द्वन्द्वका दृश्य राम्रा छन् तर केही अनावश्यक रूपमा लामो लाग्न सक्छ । चलचित्रको बाँकी भाग यस्तो देखिन्छ कि मानौँ कुनै कथा सुरु भएको छ र यसलाई समाप्त गर्ने समय आएको छ ।