• २९ फागुन २०८२, शुक्रबार

कमजोर पटकथा, उत्कृष्ट अभिनय

blog

काठमाडौँ, फागुन २९ गते । फरक फरक भूमिकाबाट दर्शकको मन जित्दै आउनुभएका भारतीय चलचित्र अभिनेता अनिल कपुर अभिनीत चलचित्र ‘सुबेदार’ यतिबेला ओटिटीमा प्रदर्शनरत छ । उमेरले ६० काटेर पनि अभिनयको जादु छर्दै आउनुभएका कपुरको यस चलचित्रलाई भने दर्शकले त्यति रुचाएको देखिएन । गत हप्ता प्रदर्शनमा आएको चलचित्र व्यापारिक रूपमा सफलता नपाउने बाटोमा  छ । सुरेश त्रिवेणी निर्देशित चलचित्रले एक सेवानिवृत्त सेना अधिकारीको आन्तरिक द्वन्द्व र माफियासँगको लडाइँलाई चित्रण गर्ने प्रयास गरेको छ ।

चलचित्र अर्जुन मौर्य (अनिल कपुर) को जीवनमा केन्द्रित छ । अर्जुनले आफ्नो जीवनको अधिकांश समय सीमामा देशको सेवा गर्दै बिताउनुभयो । सेवानिवृत्ति पछि उहाँ छोरी, श्यामा (राधिका मदन) सँग बाँकी जीवन बिताइरहनुभएको छ  । श्रीमती (खुस्बु सुन्दर) को दुर्घटनामा मृत्युको समयमा बुवा उहाँको साथमा नभएकोमा श्यामाले बारम्बार पछुतो गरिरहन्छिन् । 

अर्जुन बस्ने सहरमा, बबली दिदी (मोना सिंह) ले जेलबाट नै अन्डरवल्र्डमा प्रभुत्व जमाउनुभएको छ । बबलीले ठुलो मात्रामा अवैध बालुवा उत्खनन ठेक्काका काम गर्नुहुन्छ । उहाँको विरुद्धमा बोल्नेले प्रायः गम्भीर परिणाम भोग्छन् । जेलमा हुनाले भाइ राजकुमार (आदित्य रावल) ले उहाँको बाहिरी काम गरिरहनुभएको हुन्छ भने सफ्टी (फैसल मलिक) ले उहाँलाई त्यसमा सघाउने काम गर्नुहुन्छ । 

यता अर्जुनको पुरानो साथी प्रभाकर (सौरभ शुक्ला) ले उहाँलाई राजकुमारको ड्राइभरको जागिर मिलाइदिन्छन् । अर्जुनले विस्तारै भ्रष्टाचार, हिंसा र शक्तिको खेलमा फस्दै जानुहुन्छ । परिस्थितिले एक सेवानिवृत्त सिपाहीले आफ्नो सम्मान, आफ्नी छोरी र आफ्ना सिद्धान्तको रक्षा गर्न अनेकन शक्तिको सामना गर्नुपर्ने हुन्छ ।

चलचित्र सबै सबैभन्दा ठुलो शक्ति भनेकै कलाकारको अभिनय हो । अनिल कपुरको भूमिकामा दर्शक धेरै नै रमाउँछन् । उहाँले आफ्नो क्रोध, संयम र एक सिपाहीको दृढ सङ्कल्पलाई प्रभावकारी रूपमा प्रस्तुत गर्नुभएको छ । अभिनेता कपुरको अझै पनि चलचित्रको पर्दामा प्रभाव देखिन्छ । उहाँले सुबेदारको भूमिकालाई जीवन्त बनाउन सक्दो प्रयास गर्नुभएको छ । उहाँको अनुहारमा देखिने चाउरीपना र आँखाको रिसरागले नै दर्शकलाई मन्त्रमुग्ध बनाउँछ । 

सौरभ शुक्ला सधैँ जस्तै प्रतिभाशाली छन्, उहाँलाई अर्जुनको साथी र गुरुको भूमिका सुहाएको छ ।  आदित्य रावलले खलनायक राजकुमारका रूपमा प्रभाव पार्नुहुन्छ । छोरीको भावनात्मक पक्षको भूमिकामा देखिनुभएकी राधिका मदनको अभिनय तारिफयोग्य छ । बबली दिदीको रूपमा मोना सिंहको अभिनयले दर्शकलाई प्रभाव पार्न सक्छ । केही नयाँ गर्छु भन्दाभन्दै उहाँको चरित्रलाई निर्देशक त्रिवेणीले खासै विस्तार गर्न सक्नुभएको छैन ।

चलचित्रको कमजोर पक्ष भनेकै यसको पटकथा हो । निर्देशक त्रिवेणीले कलाकारको अभिनयमा भन्दा पनि चलचित्रको पटकथामा थोरै ध्यान दिनुभएको हुन्थ्यो भने दर्शकले चलचित्रको वाहवाही गर्थे होला । मध्यप्रदेशको अनुभूति राम्रोसँग सिर्जना गरिए पनि निर्देशन अपेक्षा अनुसारको मेहनत चलचित्रमा देखिँदैन । कथा आशाजनक देखिन्छ तर यसको प्रस्तुति ढिलो र लम्बाइ लामो लाग्छ । लगभग साढे दुई घण्टाको अवधिमा धेरै दृश्य यस्ता छन् जसले चलचित्रको गतिलाई बेवास्ता गर्दछ । चलचित्रमा निर्देशकले तर्कको अभाव भएको संसार सिर्जना गर्ने प्रयास गर्नुभएको छ जसका कारण चलचित्र अवधिभर दर्शकको मनमा अनेकन प्रश्न उब्जन सक्छन् ।