• ८ वैशाख २०८३, मङ्गलबार

युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ

blog

शिवराज ढुंगाना 

अछाम, वैशाख ८ गते । सुस्तमनस्थितिकी ३० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा अछाम प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका –२ घर भइ अछाममा मिस्त्री काममा संलग्न ५८ वर्षीय राजन फुयाँल शर्मा रहेका छन् । प्रहरीले हुलियाका आधारमा खोजतलास गर्दा सोमबार मंगलसेन नगरपालिका–५ बाट पक्राउ गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अमप्रकाश खनालले जानकारी दिनुभयो । 

पीडित युवती गर्भवती रहेको हल्ला गाउँमा चलेपछि गस्तीमा खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरेर स्वास्थ्य परीक्षण पश्चात सात हप्ताको गर्भ रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । युवतीलाइ गएको फागुन १६ गते शर्माले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलिसकेको प्रमुख खनालको भनाइ छ । 

पीडितको आफन्तबाट जाहेरी दरखास्त लिएर घटनाका बारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । विद्यालयको निर्माणाधीन भवनमा काम गर्न आएका फुयाँल शर्माले जबर्जस्ती करणी गरेको खुल्न आएको अछाम प्रहरीको भनाइ छ ।