• ८ वैशाख २०८३, मङ्गलबार

झापामा अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

blog

दुर्घटनाग्रस्त अटो ।

लीलाराज खड्का

विर्तामोड, वैशाख ८ गते । झापाको कन्काई नगरपालिका–३, नयाँ बस्तीमा मङ्गलवार बिहान अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मङ्गलवार बिहान ११:३० बजे कन्काई नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा विर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र१–०१–००१ ह ८२५२ नम्बरको अटो अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको मे ५ प ६६२० नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो ।

दुर्घटनामा अटोमा सवार हल्दिबारी–३ बस्ने ६८ वर्षीया मञ्जुधरी ढकालको मृत्यु भएको छ । टाउकोमा चोट लागेर गम्भीर घाइते हुनुभएकी ढकालको विर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा दिउँसो ४:३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको शव सोही अस्पतालमा राखिएको छ ।

अटोमा सवार हल्दिबारी–३ का ५७ वर्षीय जीवन ढकालको ओठमा चोट लागेको छ । सामान्य घाइते उहाँको प्रधान मेडिकल सुरुङ्गामा उपचार भइरहेको छ ।

त्यस्तै, अटोमा सवार हल्दिबारी–३ का ५० वर्षीया हरिमाया ढकाल, सोही ठाउँका ३५ वर्षीया भीमा ढकाल, १३ वर्षीय रोजन ढकाल, हल्दिबारी–५ का १३ वर्षीय प्रदीप नेपाल र मोटरसाइकल चालक मोरङ मिक्लाजुङ–६ का ३७ वर्षीय चन्द्रबहादुर खत्री गम्भीर घाइते हुनुभएको छ । घाइतेहरूको विर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले अटो, मोटरसाइकल र अटो चालक हल्दिबारी–३ का ४६ वर्षीय खेमराज गौतमलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।