• ८ वैशाख २०८३, मङ्गलबार

फुटपाथ व्यवस्थापनमा कडाइ

blog

खेमराज सापकोटा

रानी, वैशाख ८ गते । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको अव्यवस्थित फुटपाथ र सडक अतिक्रमण हटाउन आगामी वैशाख ११ गतेदेखि विशेष अभियान सुरु गर्ने भएको छ । 

महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरूको बैठकले मुख्य बजार र आसपासका क्षेत्रलाई व्यवस्थित बनाउन कडाइका साथ नियम लागू गर्ने निर्णय गरेको हो ।

महानगरले अभियानको सुरुवाती दुई दिन (वैशाख ९ र १० गते) माइकिङमार्फत व्यवसायी र सर्वसाधारणलाई सचेत गराउनेछ । त्यसपछि वैशाख ११ गतेदेखि भने पूर्ण रूपमा कार्यान्वयन र नियम उल्लंघन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइने रणनीति तय गरिएको छ ।

नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार अबदेखि बजार क्षेत्रमा पसलको सटर बाहिर कुनै पनि व्यापारिक सामग्री राख्न पाइने छैन । सडकपेटीमा निर्माण सामग्री थुपार्न निषेध गरिएको छ ।

यस्तै मोटरसाइकल ग्यारेजका सामानहरू बाहिर निकाल्न पाइने छैन । कवाडी व्यवसाय सञ्चालनका लागि तोकिएको न्यूनतम मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उहाँले जनाउनुभयो ।

फुटपाथ व्यवस्थापनसँगै पार्किङ र ट्राफिक जामको समस्या हल गर्न महानगरले एक उच्चस्तरीय समितिसमेत गठन गरेको छ । सरसफाई शाखा प्रमुख पुनमकुमार दाहालको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले ठेला व्यवस्थापन, पार्किङ क्षेत्र निर्धारण र ट्राफिक प्रवाहबारे अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ ।

प्रमुख नागेश कोइरालाले सफा र सुरक्षित सहर निर्माणका लागि नागरिक र निजी क्षेत्रको सहकार्य अनिवार्य रहेको बताउनुभयो । “सर्वसाधारणबाट फुटपाथ अतिक्रमण र जामबारे धेरै गुनासा आएका छन्, त्यसैले हामी यो अभियानलाई प्राथमिकताका साथ अघि बढाउँदैछौँ,“ उहाँले भन्नुभयो ।

अभियानमा जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले फुटपाथ नियन्त्रणका साथै खोलाहरूको अवैध उत्खनन् रोक्न पनि प्रहरीले सक्रियता देखाउने स्पष्ट पार्नुभयो ।

बैठकमा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल, सशस्त्र प्रहरीका एसपी गेहेन्द्रबहादुर भण्डारी, ट्राफिक प्रमुख सन्तोष न्यौपाने लगायत मोरङ उद्योग व्यापार संघ र खुद्रा व्यापार संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।